– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । पछिल्लोपटक १८०६ को विन्दुबाट फर्केको बजार २२२३ को विन्दुसम्म पुगेको बजार पुनः आज १९२४ मा बन्द भएको छ। 

यो साताको दुई कारोबारमा बजार झन्डै ७५ अंकभन्दा बढीले बढेको थियो। तर, त्यो बढोत्तरी बजारमा एक दिन पनि टिक्न सकेन। अर्थात गएको दुई कारोबारमा खरिद गर्नेहरु बुल ट्रयापमा परेको बजारमा सुनिन्छ। 

आज ब्रोकर हाउसमा भेटिएका धेरै लगानीकर्ताले हिजो खरिद गर्नेहरु बुल ट्रयापमा परेको बताए। गएको दुई कारोबारमा बजारमा डेड क्याट बाउन्स भएको उनीहरुको तर्क छ। 

डेड क्याट बाउन्स भनेको के हो ? 

यदि घटिरहेको बजारमा अल्पकालीन तथा छोटो समयका लागि बजार तथा कुनै कम्पनीको सेयरमूल्य फर्किन्छ भने सेयर बजारमा डेडक्याट बाउन्स अर्थात मरेको बिरालो भनेर चिनिन्छ। यदि कुनै पनि कम्पनीको मूल्य तथा बजार सूचकमा अल्पकालीन र्‍याली आउँछ र कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः  मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई आधारभूत रुपमा डेड क्याट र्‍याली भनेर बुझिन्छ। 

त्यसैगरी प्राविधिक रुपमा पनि डेड क्याट बाउन्सलाई परिभाषा गरेको पाइन्छ। यदि निरन्तर बढेको बजार तथा वस्तुको मूल्यमा गिरावट आउँछ र पुनः अल्पकालीन बढोत्तरी आएर ‘भी’ आकार बनाउँछ भने त्यसलाई पनि डेड क्याट बाउन्स भनेर बुझिन्छ। 

कसरी पर्छन् लगानीकर्ता बुल ट्रयापमा ?

डेड क्याट बाउन्स हुने मुख्य कारण कुनै पनि सेयर अथवा सूचक केही समय बढेको हुन्छ। यस्तो बढेको अवस्थामा एकथरि लगानीकर्ताले सेयर बेच्न सकेको हुँदैन। जब बजार घट्न थाल्छ उसले पहिलेको सूचक तथा सेयरमूल्य हेरेर पुछुतो मानेको हुन्छ र अब बढ्दा बेच्ने मनस्थिति बनाएको हुन्छ। 

अर्काथरि लगानीकर्ता जसले किन्नका लागि करेक्सन कुरेर बसेको हुन्छ तर बजार बियरिस ट्रेन्डमा पुगेको थाहा पाएको हुन्न।  उसले केही घटेपछि पुनः बजारमा छिर्छ। 

यी दुईथरि लगानीकर्ताको कारोबारले बजारमा डेड क्याट बाउन्सको अवस्था सिर्जना हुन्छ। सेयर बजारमा बोलीचालीको भाषामा यसलाई बुल ट्रयाप पनि भनेर भनिन्छ। 

उदाहरणका लागि कुनै पनि कम्पनीको सेयरमूल्य बढेर १०० रुपैयाँ पुगेको थियो तर घटेर ७० रुपैयाँमा आएपछि  लगानीकर्ताले खरिद गर्दै गएर ९० रुपैयाँसम्म पुग्यो। तर, पछि घटेर पुनः ५० रुपैयाँमा आयो भने ७० रुपैयाँदेखि ९० रुपैयाँसम्म खरिद गर्ने लगानीकर्तालाई बुल ट्रयापमा परेको भनेर बुझ्न सकिन्छ।