काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन्। 

मौलाकालिका केबलकार प्रालिद्वारा निर्मित मौलाकालिका केबलकारको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरुले ब्याजदरमा कमी ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताका हुन्। ‘केही महिनाअघिसम्म व्यवसायीहरु निकै ठूलो संकटमा थिए। अहिले त्यसमा क्रमशः सुधार आउँदैछ’, उनले भने,  ‘बैंकको ब्याजदर केही घटेको छ। यो महिनाभित्र थप केही घट्छ।’

‘अघिल्लोपटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै थियो। तर, निकै ठूलो दुःख र मेहनतपछि त्यसमा राम्रो सुधार आयो’, प्रधानमन्त्री दाहालले भने, ‘७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरियो। राजनीति र अर्थतन्त्र दुवैमा राम्रो प्रगति भयो। त्यसपछि नेपाली कांग्रेसका सभापति देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गरिदिएँ। अहिले पनि म त्यस्तै परिस्थितिमा प्रधानमन्त्री भएको छु। यतिबेला मैले अघिल्लो कार्यकाल सम्झिरहेको छु।’

उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न नसकिने दाहालले बताए। ‘त्यसैले सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेका छौँ’, उनले भने, ‘अर्थतन्त्र लयमा फर्किन थालेको छ। यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु। अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरु गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ।’ 

मौलाकालिका राष्ट्रिय रुपमा नै पर्यटकीय केन्द्र बन्दै गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। ‘मौलाकालिका, देवघाट, राष्ट्रिय निकुञ्ज, नारायण नदी आफैँमा पर्यटनका ठूला गन्तव्य हुन्’, उनले भने, ‘यो परियोजनाले यी क्षेत्रलाई जोड्नेछ। यस क्षेत्रको धार्मिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनमा गुणात्मक प्रगति हासिल हुनेछ भन्ने विश्वास लिएको छु। चितवन र नवलपुरलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्नुपर्छ। यसो गर्दा यहाँको विकासले क्रान्तिकारी फड्को मार्नेछ।’

‘निजी क्षेत्रलाई संकटबाट मुक्त गर्न र माथि उठाउन यसबीचमा ठूलो मेहनत गरिएको छ। मेहनतको सबै नतिजा त आइसकेको छैन तर क्रमशः सुधार भएको छ। निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरी नेपालको समृद्धि र विकासले गति लिन सक्दैन भन्नेमा म प्रष्ट छु’, प्रधानमन्त्री दाहालले भने, ‘उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका नै मुख्य रहन्छ। त्यसमा राज्यले आवश्यक वातावरण निर्माण, व्यवसायमैत्री कानुन र सुरक्षा प्रबन्धको व्यवस्था गर्नुपर्छ।’