काठमाण्डौ। बजार घटेर लगानीकर्ताहरु निराश बनिरहेकै बेला सरकारले पाउने कर भने बढेको छ। 

सीडीएससीले उपलब्ध गराएको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा सरकारले पाउने पुँजीगत लाभकर भने गत वर्षको सोही अवधिमा भन्दा १ अर्ब ३३ करोड ८४ लाख रुपैयाँले बढेको हो। चालु आर्थिक वर्षको चैतसम्म सेयर बजारबाट पुँजीगत लाभकरबापत सरकारले ९ अर्ब ७२ करोड ८६ लाख ७५ हजार ४२१ रुपैयाँ प्राप्त गरेको सीडीएससीको तथ्यांकले देखाएको छ। गत वर्ष यही अवधिमा सेयर बजारबाट सरकारले पुँजीगत लाभकरबापत ८ अर्ब ३९ करोड २ लाख ७२ हजार ५८७ रुपैयाँ प्राप्त गरेको थियो।

सरकारले चालु आर्थिक वर्षदेखि सेयर बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्टाएर पुँजीगत लाभकर बढाएको छ। जसअनुसार सेयर किनेको १ वर्षभित्र बेच्दा ७.५ प्रतिशत र १ वर्षभन्दा बढी समयपछि बेच्दा ५ प्रतिशतमात्र पुँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ। गत आर्थिक वर्षमा अल्पकालीन र दीर्घकालीन दुवै लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। 

यसैबीच पछिल्लो समयमा लगानीकर्ता सचेत बन्दा क्लोजआउटको जरिवानाबापतको रकम भने केही घटेको छ। गत वर्ष यही अवधिमा यस्तो जरिवानाबापत लगानीकर्ताले १० करोड ७४ लाख ५१ हजार ८२७ रुपैयाँ तिरेका थिए। चालु आवको चैतसम्म भने लगानीकर्ताहरुले क्लोजआउटको जरिवानाबापत ९ करोड ६ लाख ५२ हजार ५८२ रुपैयाँमात्रै तिरेका छन्। यो हिसाबले यस्तो जरिवानाबापतको रकममा १ करोड ६८ लाखबराबरले कमी आएको छ।