– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लामो समयदेखि निरन्तर घटिरहेको बजार लगानीकर्ताले अपेक्षा गरे जसरी माथि जान सकिरहेको छैन।
लगभग ३२०० को उच्च विन्दुबाट घट्न सुरु गरेको बजार एकपटक २२६० को विन्दुबाट माथि गएको थियो। तर, बजारले पहिलेको ३२०० को विन्दुलाई ब्रेक गर्न सकेन।
यसरी बजार खस्नुमा तरलता संकट तथा नियामक निकायका कसिलो नीति तथा व्यवस्था नै मुख्य कारण रहेको जानकारहरु बताउँछन्। निरन्तर खसेको बजार वैशाख लागेसँगै बढ्ने भनियो तर बढेन। चुनावपछि बढ्छ भनेको बजार पनि एक साता बित्ता पनि बढ्न सकेको छैन।
बैंकर तथा बजार जानकार वीरेन्द्र बिष्ट अहिले नै तरलता बैंकिङ च्यानलमा आइनसकेको बताउँछन्। चुनाव भए पनि खर्च गरिएको पैसा सिस्टममा आउन समय लाग्ने उनको भनाइ छ।
बिष्टले यो बेला राम्रा कम्पनीका सेयर होल्ड गर्दा नै उचित हुने बताउँछन्।
बजार जानकार सरोज भट्टराई अहिले ऋण लिएर लगानी गर्ने समय नभएको बताउँछन्। उनका अनुसार सेयर बजारमा मुख्य गरी क्यापिटल गेन र डिभिडेन्ड गेन हुने गर्छ। अहिलेको बजारमा क्यापिटल गेन गर्न निकै कठिन हुने भएकोले ट्रेड गर्न निकै कठिन भएको उनको भनाइ छ।
दीर्घकालका लागि १–२ वर्ष नै होल्ड गरेर लगानी गर्ने हो भने त अहिले लगानी गर्दा राम्रै हुने भट्टराईको सुझाव छ। विश्वमा देखिन थालेको आर्थिक संकट तथा तरलता अभावकै कारण बजार माथि जान नसेकेको उनको बुझाइ छ।
सक्रिय लगानीकर्ता नीमानन्द कँडेलले घट्दो बजारमा बैंक तथा माइक्रो फाइनान्समा लगानी गर्दा राम्रो हुने बताउँछन्। ‘बजार सधैँ घट्दैन’, उनले भने, ‘माग र आपूर्तिका आधारमा चल्न सकिन्छ।’
घट्दो बजारमा ऋण लिएर लगानी गर्न नहुने सुझाव दिँदै कँडेलले यस्तो बेला ब्याजदर र राजनीतिक अवस्था हेरेर लगानी गर्नुपर्ने सल्लाह दिए। ‘बजारले कमाउने अवसर दिन्छ’, उनले भने, ‘हाई बिटा भएका कम्पनीमा चल्नसके कमाउन सकिन्छ।’
नेपालको बजारले सधैँ अवसर दिने गरेको उल्लेख गर्दै कँडेलले अहिलेको अवस्थामा स्मार्ट ट्रेडर बन्नुपर्ने बताए। ‘बजारमा इन्भेस्ट गर्दा आधारभूत रुपमा राम्रा कम्पनी र ट्रेड गर्दा लो क्याप भएको कम्पनीमा लगानी गर्नु उचित हुन्छ’, उनले भने, ‘७० प्रतिशत लगानी र ३० प्रतिशत ट्रेड गर्दा हुन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19