काठमाण्डौ । ब्रिटेन युरोपियन युनियनबाट अलग हुने जनादेश(ब्रेक्जिट)पछि एकाएक बढेको सुनचाँदीको भाउ पछिल्लो दिनमा ओरालो लाग्न थालेको छ । 

नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि सामान्य उतारचढावको यात्रा गरिरहेको सुन र चाँदीको भाउमा बिहीबार  एकैदिन गिरावट देखिएको हो । 

बिहीबार छापावाल सुनको भाउमा प्रति तोलामा ५ सय रुपैयाँले गिरावट आएको छ । तेजाबी सुनको मूल्य पनि प्रति तोला ५ सय रुपैयाँले नै घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । बिहीबार यसको भाउ ५८ हजार २ सयमा झरेको हो । 

यसैगरी, बुधबार प्रति तोला ५८ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको तेजाबी सुन बिहीबार घटेर तोलाको ५७ हजार ९ सय ५० मा आइपुगेको छ । 

साउन १ गते छापावाल सुन प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि २ गते ५८ हजार ८ सय पुगेको भाउ ३, ४ गते क्रमशः ५८ हजार ५ सय र ५८ हजार ६ सय पुगेको थियो । 

अन्तर्राष्ट्रिय क्षेत्रमै समेत माग घटेर मूल्यमा दवाब परेको र यसको असर नेपाली बजारमा समेत परेका कारण सुनचाँदीको मूल्य घटिरहेको हो । 

यसैबीच, चाँदीको भाउमा समेत बिहीबार एकैदिन ठूलो गिरावट देखिएको छ । बुधबार प्रति तोला ९ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तोलामा २५ रुपैयाँले घटी ८ सय ७५ मा आइपुगेको हो । साउन १ गते चाँदीको भाउ प्रति तोला ९ सय ५ रुपैयाँ कायम भएको थियो । त्यसपछि २ गते ९ सय  १० रुपैयाँ पुगे पनि ३, ४ र ५ गते ९ सय रुपैयाँ प्रति तोलामा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १३३० डलरमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भारतीय बजारमा प्रति किलोग्राम ४६ हजार २ सय ६० भारुमा आइपुगेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमै समेत माग घटेर मूल्यमा दवाब परेको र यसको असर नेपाली बजारमा समेत परेका कारण सुनचाँदीको मूल्य घटिरहेको सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले बताएका छन् ।