काठमाण्डौ । आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको अपी पावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ८ करोड ८ लाख खूद नाफा आर्जन गरेको छ । 

कम्पनीले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ६६ लाख ६७ हजार घाटा व्यहोरेको यो कम्पनीले आब २०७२/७३ मा चाहि ८ करोड ८ लाख खूद नाफा आर्जन गरेको हो । 

अपीले आफ्नो लगानीमा संचालित आयोजनाबाट उत्पादित बिजुली बिक्रीबापत १० करोड ५८ लाख आम्दानी गरेको देखिएको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी गत वर्ष १० लाख ८१ हजारमा सीमित रहेकोमा यो वर्ष बढेर १ करोड ६१ लाख पुगेको छ । 

कम्पनीको कुल संचालन खर्च गत वर्षको ५८ लाख ९३ हजारबाट बढेर १ करोड २१ लाख पुगेको छ । 

कम्पनीको सञ्चित कोष पनि बढेको छ । १ करोड ३६ लाखको सञ्चित कोष बढेर ६ करोेड ७१ लाखको बनेको हो । 

यो जलविद्युत कम्पनीमा लगानी समेत निकै बढेको देखिएको छ । आर्थिक वर्ष २०७१/७२ मा १ करोड १ लाख मात्र लगानी रहेकोमा यो वर्ष बढेर १४ करोड ५४ लाख पुगेको हो । 

यो कम्पनीको सेयर पूँजी १ अर्बको रहेको छ । 

यो कम्पनीको प्रति सेयर आम्दानी ८.०८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०६.७२ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १०४.३ गुणा छ । यसको अर्थ, यो कम्पनीको अवस्था खासै सन्तोषजनक नरहनु भन्ने हो ।