काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा ३७ गुणा बढी आवेदन परेको छ । 

आईपीओ खरिदका लागि आवेदन दिने मंगलबार अन्तिम दिन थियो ।

सेयर निश्कासन तथा बिक्री प्रबन्धक प्रभू क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्म यो कम्पनीको आइपीओ खरीदका लागि २ लाख ८९ हजार १४७ वटा आवेदन परेका छन् । यही तथ्यांकलाई आधार मान्दा पनि १० कित्ताको दरले १२ हजार ४५९ आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी २ लाख ७६ हजार भन्दा बढी आवेदकको हात रित्तो हुने देखिन्छ । 

कुल ४९ लाख ५६ हजार ६३० कित्ता खरीदका लागि आवेदन परेको छ । यो तथ्यांक फाइनल भने होइन । 

कञ्चनपुरको बेलौरीमा रहेको घोडीघोडा लघुवित्तले गत असार २० गतेबाट आईपीओमा आवेदन खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता एक रुपैयाँ अंकित एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको हो। 

कुल आईपीओमध्ये १ हजार ३८० कित्ता सेयर यस कम्पनीका कर्मचारीलाई र ६ हजार ६३० सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। 

लगानीकर्ता कम्तीमा १० कित्ता र अधिकतम १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो सेयरबाट समेत सेयर खरिदको आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।