काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ। 

नेपाली पुँजीबजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायीका रुपमा लामो इतिहास बोकेको नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँगको संयुक्त सहकार्यमा नेपालको औद्योगिक क्षेत्रमा विशेष भूमिका रहेको र वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्ट इन्डस्ट्रीसँग उक्त कम्पनीकोे ७९.४३ लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको छ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशी र घोराही सिमेन्ट इन्डस्ट्रीका तर्फबाट सञ्चालक आदित्य संघाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

विसं. २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरि व्यावसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्री हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ। 

नेपालको उद्योगीकरण र व्यापार प्रवर्द्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी र विशाल समूहबाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्री, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताका आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमध्ये पर्दछ.। 
हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।