काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी आवेदन परेपछि असार ४ गते नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्ने भन्दै स्थगित गरेको थियो। तर, पछि फेरि धितोपत्र बोर्डले यो आईपीओको निष्कासन प्रक्रिया फुकुवा गरेको थियो। 

धितोपत्र बोर्डले फुकुवा गरेसँगै कम्पनीले गत असार २२ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। 

कम्पनील्े कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको थियो। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख ७३ हजार ८३९ आवेदकबाट कुल २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.६८ गुणाले बढी हो।

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।