काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज असार ३१ गते दिउँसो गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले घोराही सिमेन्टको आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा दिउँसो ३ बजे गरिने कार्यक्रम रहेको छ। 

यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी आवेदन परेपछि असार ४ गते नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्ने भन्दै स्थगित गरेको थियो। तर, पछि फेरि धितोपत्र बोर्डले यो आईपीओको निष्कासन प्रक्रिया फुकुवा गरेको थियो। यो आईपीओमा पछि असार २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको थियो। 

निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख ७३ हजार ८३९ आवेदकबाट कुल २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.६८ गुणाले बढी हो। तर, आवेदकको संख्या कम रहेको थियो।

यो आईपीओमा आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाउनेछन् भने केही आवेदकले १० कित्ताभन्दा बढी सेयर पाउने देखिन्छ।

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङसँगै हिमालयन क्यापिटल पनि रहेको छ।