काठमाण्डौ । फेस भ्यालुमा ३३५ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई सेयर निष्कासन गरेको घोराही सिमेन्टको आजबाट दोस्रो बजारमा कारोबार सुरु भएको छ। 

घोराही सिमेन्टको आईपीओको बजारमा धेरै चर्चा चलेको थियो। फर्जी आवेदन परेपछि विवादमा परेको घोराही सिमेन्टको आईपीओ स्थगित गरी फेरि धितोपत्र बोर्डले बिक्री खुला गर्ने अनुमति दिएको थियो। 

घोराही सिमेन्टको सेयर आज ५६५ रुपैयाँमा कारोबार खुलेको थियो। तर, कारोबारको पहिलो दिनै यो कम्पनीको सेयरभाउ ९.९९ प्रतिशत अर्थात ५६.५ रुपैयाँले घटेर ५०९ रुपैयाँमा बन्द भएको छ। 

घोराही सिमेन्टको सेयरभाउ आज बढेर ५८१ रुपैयाँसम्म पुगेको थियो। कारोबारको पहिलो दिन यो कम्पनीको सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५२)बाट उच्च कारोबार भएको छ। यो ब्रोकरबाट मात्रै घोराही सिमेन्टको ६३ हजार ९१ कित्ता खरिद भएको छ। 

घोराही सिमेन्टको सेयर धेरै खरिद गर्ने ब्रोकरको सूचीमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) दोस्रो नम्बरमा छ। यो ब्रोकर हाउसबाट घोराही सिमेन्टको ४१ हजार ४६३ कित्ता सेयर खरिद भएको छ।  

त्यसैगरी क्रिस्टल कञ्चनजंघा (सेक्युरिटिन स्टक ब्रोकर नं. ५०) घोराही सिमेन्टको धेरै सेयर खरिद गर्ने तेस्रो ब्रोकर बनेको छ। यो ब्रोकरबाट ३१ हजार ८७२ कित्ता सेयर खरिद भएको छ। 

घोराही सिमेन्टको धेरै सेयर बिक्री गर्ने ब्रोकरमा दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) पहिलो स्थानमा रहेको छ। यो ब्रोकरबाट ४० हजार २३४ कित्ता सेयर बिक्री भएको छ। त्यस्तै एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७)बाट घोराही सिमेन्टको ३३ हजार ४८२ कित्ता बिक्री भएको छ भने अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नं. ४९)बाट २७ हजार ५२६ कित्ता सेयर बिक्री भएको छ।