काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

अपरिष्कृत वित्तीय विवरणअनुसार घोराही सिमेन्टको नाफा अघिल्लो वर्षको तुलनामा ७५.३३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म उद्योगले २१ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा वर्षमा भने उद्योगले ५ करोड ३४ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। 

सिमेन्ट उद्योगमा बजार मागभन्दा बढी उत्पादन भएकोले प्रतिस्पर्धात्मक स्थितिमा बिक्रीदर घट्न गएकाले समीक्षा वर्षमा उद्योगको बिक्रीवितरणमा कमी भएको र आम्दानी पनि सोहीअनुसार घट्न पुगेको कम्पनीले स्पष्ट पारेको छ। 

उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ३.६७ प्रतिशतले घट्न पुगेको छ। अघिल्लो वर्ष सिमेन्ट बिक्रीबाट ४ अर्ब ८० करोड रुपैयाँको आम्दानी गरेकोमा समीक्षा वर्षमा घटेर ४ अर्ब ६२ करोड रुपैयाँमात्रै भएको छ। 

चुक्तापुँजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको घोराही सिमेन्टको रिटेन अर्निङमा ३ अर्ब ९९ करोड रुपैयाँ, अन्य रिजर्भमा ७ करोड ९० लाख रुपैयाँ र सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङमा ३ अर्ब ९४ करोड रुपैयाँ र अन्य रिजर्भमा ७ करोड ९० लाख रुपैयाँ थियो। 
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६९.५६ रुपैयाँ रहेको छ।