काठमाण्डौ । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
 

साधारण सभामा कम्पनीका अध्यक्ष पुरुषोत्तम लाल संघईले  प्रतिकुलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ को  मंसिर महिनासम्म १ अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको बताए ।
 

आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

हाल कम्पनीको अधिकृतपूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्तापूँजीमा बृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।
 

त्यस्तै कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कात्तिक २ गते राजीनामा दिएकाले सोहि मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त भएका छन् ।

योसँगै कम्पनीको संस्थापक समूहमा पाँच जना सञ्चालक भएका छन् ।