-भक्तराज रसाइली
काठमाण्डौ । गतसाता अर्थमन्त्रीको एउटा सानो अभिव्यक्तिले आम लगानीकर्ताहरुमा पलाएको आशाको पालुवा यो साताको कारोबार पहिलो दिनले निराशामा बदलिदिएको छ । नजिकिँदै गरेको महान चाँड दशैंको रातो टीका झैं नेप्से इण्डेक्समा पनि रातो पोतियो । नेप्से इण्डेक्समा भएको दोहोरो अंकको गिरावटले आइतबार नेप्से सूचक ११ सय ३९ दशमलव २६ अंकमा सीमित बन्न पुग्यो ।
नेप्से सूचकको पारो घटबढ सामान्य मानिन्छ । यद्यपि नेपाली सेयर बजारमा साताको कारोबारको पहिलो दिनमा आउने गिरावटको परम्परालाई कायमै राखिएको देखियो । यस साता ग्राउण्ड जिरोको रिपोर्टिङका लागि सेयर कारोबारको दोस्रो हब मानिने अनामनगरलाई रोज्यौं र बजारको यथार्थ वस्तुस्थिति र लगानीकर्ताहरुको मनोविज्ञानलाई ग्राउण्ड जिरोमा कैद गर्ने प्रयास गरिएको छ ।
सेयर कारोबारको पहिलो प्रहर ११ बजे अनामनगरस्थित मार्फा हाउसमा रहेको भिजन सेक्युरिटीजमा पुग्दा छिटपुट लगानीकर्ता भेटिए । अनि हामी सदा झैं एकापट्टि बसेर नियाल्दै थियौं । सोही भीडमा उपस्थित एक लगानीकर्ताले भारतीय अर्थमन्त्रीद्वारा आयकरमा छुट प्रदान गरिएको प्रसंग निकाल्दै करिब २ हजार अंकले त्यहाँको सेयर बजार बढेको बताए । भारतको पैसा नेपालको सेयर बजारमा आउने आंकलन ती व्यक्तिले गर्दैगर्दा यसैबीचमा अर्का एक पाका लगानीकर्ताले बजार घटिरहेको परिप्रेक्ष्यमा बजार घटेका बेला उठाउने पनि त होलान् नि ? भन्दै आशा देखाए । सेयर किनिसकेकाले बढोस् र नकिनाकाले घटोस् भन्ने आम लगानीको मनस्थिति भएको दाबी गरे ।
त्यसपछि हामीले १२ बजेतिर ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज उक्लियौं । ठीकै मात्रामा उपस्थित लगानीकर्ताहरु नेप्से लाइभ देखिने डिस्प्लेतर्फ घाँटी लम्काइ–लम्काइ हेरिरहेका थिए । पहिलो प्रहर बजार घटे पनि १२ बजेपछि बजार फर्केला कि भन्ने आकांक्षा पालेर बसेका लगानीकर्ताहरु आपसमा पनि घरिघरि कुराकानी गर्न भ्याउँथे ।
‘१८ सय(नेप्से इण्डेक्स)मा फसेकाहरु फसेको फसै हुने भए नि !’ एक महिला लगानीकर्ता बोलिन् । होमा हो थप्दै अर्की महिला लगानीकर्ताले भनिन्–‘१६ सय पुगे भाग्य हुने थियो ।’
हामी बसेकै छेउका एक पुरुष लगानीकर्ताले ‘आइतबार कहिले हरियो नहुने भयो, घट्या घटैछ’ भन्दै गुनासो पोखे । त्यसलगत्तै त्यहीँ उपस्थित अर्की महिला लगानीकर्ताले ‘बजार घटे हुने’ भन्दै आफूले अवसर कुरिरहेको सुनाइन् ।
बजार निरन्तर घट्ने क्रममै थियो । एकाध कम्पनीको मूल्यमा हरियो पोतिए पनि अधिकांश राताम्मै हुन थाले । सोही भीडमा रहेका अर्का लगानीकर्ताले मंसीर–पुषमा त झन् के बढ्ला र ख्वै ? भन्दै अड्कलबाजी गर्न लागे । ‘जाडो बढेसँगै झन् खुम्चिन्छ।’ उनले थपे–‘माघ–फागुनमा १ हजार आउला बजार त’ भन्दै अर्कोे लगानीकर्ता कुर्लिए ।
‘जाडोमा कपडाले दौडन नसक्ला’ भन्दै अर्को व्यक्तिले ठट्यौली पारामा बोले । ‘अर्थमन्त्रीले बोल्दा बजार बढ्छ भन्थे ,उफ खै बजार त हरियो देखिएन नि !’–त्यहीँ रहेका अर्का लगानीकर्ताले चिन्ता व्यक्त गरे ।
करिब डेढ घण्टा बसाइलाई बिट मार्दै हामी ब्रोकर नम्बर ३८ दीपशीखा धितोपत्र कारोबार कम्पनीतर्फ झर्यौ । बजार राताम्मे हुँदासमेत त्यहाँ लगानीकर्ताहरुको बाक्लै उपस्थिति देखिन्थ्यो, तर त्यहाँ गुट–गुटमा बसेर अरु नै विषयमा कुराकानी भइरहेको देखिन्थ्यो ।
झुण्डमा निकै हल्ला गर्दै बोलेकाले त्यहाँ हामीले कुराकानीको अंश बुझ्न निकै गाह्रो भयो । हाइड्रो सेक्टर मात्रै नभई सबै सेक्टर तहसनहस भयो भन्दै बोलेको भेउ हामीले बल्लतल्ल पायौं । हामी बसेको छेउमै एक लगानीकर्ताले महालक्ष्मी विकास बैंकको सेयर उठाउन अर्का साथीलाई हौसाइरहेका थिए । उनले राम्रो लाभांश दिने तर्क राखे ।
धेरै हल्ला र कोलाहलमा कुराकानीको अंश बुझ्न गाह्रो भएकाले हामी ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजतर्फ लाग्यौं । डिस्प्ले रुमका एक कुनामा बसेर निकै ठूलै आवाजमा एक युवाले साउथ मूभि हेर्दै समय कटाइरहेका थिए । उनको ध्यान बजारभन्दा पनि फिल्मतर्फ नै रहेको खुट्याउन त्यत्ति गाह्रो थिएन । लगानीकर्ताहरुको उपस्थितिका बाबजूद त्यहाँ एक किसिमको चकमन्न र शान्त रहेको भेटियो ।
सोही ब्रोकर हाउसमा हामीले प्राध्यापक डा. मनोहरकृष्ण श्रेष्ठलाई देख्यौं । साढे २ बजेतिर बजार घटाइले निरन्तरता पाइरहँदा श्रेष्ठ उठेर सेयर खरिद गर्न सुटुक्कै कारोबार कक्षतर्फ लम्केको देख्यौं । त्यहाँ रहेकी एक महिला लगानीकर्ताले कारोबार रकम र नेप्से खसेको देखेर चिन्ता व्यक्त गरेकी थिइन ।
नेप्सेले उपलब्ध गराएको ४ घण्टा कारोबार समयको अन्त हुन लागेका थियो । पौने तीनबजेतिर अनामनगर हनुमानस्थाननिर रहेको ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटीजमा पस्दा लगानीकर्ताहरु ‘दशैंको मुखमा मान्छेहरु झुण्डेर मर्लान्’ भन्दै चिन्ता गरिरहेका पायौं । निरन्तर गिरावटमा ब्रेक लागी गत साता करिब ५० अंकको वृद्धिले सम्हालिएको लगानीकर्ताको मनोबललाई नेप्से सूचकले आइतबार दोहोरो अंकको घटाइले समेत लगानीकर्तामा सो किसिमको भावना पलाएको हुन सक्ने हामीले मनन गर्याैं ।
एकहप्ताभित्र सरकारी संस्थानहरुले सेयर खरिद गर्न अर्थमन्त्रीले निर्देशन दिइनुपर्ने धारणा सो ब्रोकर हाउसमा उपस्थित एक लगानीकर्ताले राखे । ‘एमालेले मान्छे फसायो’ भन्दै त्यहाँ रहेका अर्का लगानीकर्ता जङ्गिए । ‘कम्युनिष्टलाई कुरा गर्न मात्र आउने, ज्वाइँ बनाउने भनेर हाइड्रोको भड्खालोमा हालिदिए।’ उनी रिसले आगो हुँदै थिए ।
अर्थमन्त्रीको बोलीले बिगारेको बजार पुनःसपार्न खोजेपनि २० अंक घटिसक्यो भन्दै अर्को कुनाबाट लगानीकर्ताले बताए । ‘गतसाता दुई दिन बढेको बजार आजको घटाइले बराबरी भयो ।’–अर्का लगानीकर्ताले थपे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago