- प्रकाश बन्जारा
दुबई । बरदुबईमा रहेको नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्र थापाले सरोज थापाका बारेमा ‘बिजशाला’ सँग कुरा गरेको पनि झन्डै एक बर्ष भएछ । यत्तिकै पनि सेफहरुको जीवन व्यस्तताले भरिएको हुन्छ र सहजै भेट गर्न कठिन पर्छ । हामीले यूएईमा भेटेका धेरैजसो सेफले यसै भन्छन्, ‘ड्युटी जाने त ७ बजे हो तर आउने ठेगान हुँदैन ।’ यसको मतलब उनीहरुलाई होटलमा आउने पाहुनाको चाप र डिमान्डअनुसार काम गर्नुपर्ने हुँदा कहिले चाँडै त कहिले निकै ढिलो कामबाट फर्किनुपर्ने बाध्यता हुन्छ ।
यस्तै कारणले हामीले सरोजलाई भेट्ने लामो कोसिस भर्खरैमात्र सफल भयो । यसपालि भने हाम्रो कोसिसमा धादिङका अर्का युवा रामशरण खतिवडाले हामीलाई भेटाउन पुलको काम गरे । पाँचतारे होटलको भान्सा त्यसमा पनि हरेकलाई बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म आवश्यक पर्ने पेस्ट्री तथा बेकरीमा हेड पेस्ट्री सेफका रुपमा काम गर्ने सरोजले दिनभरिको कामको थकानपछि साँझमा हामीलाई समय दिए ।
दुबईको मारिवट स्टारउड होटल ग्रुपअन्तर्गत लपिता अटोग्राफ कलेक्सन नामक पाँचतारे होटलमा भान्सा अर्थात् किचेनको दोस्रो प्रमुखसमेत रहेका सरोजको संघर्षको कथा निकै गर्बिलो पाइयो । जुन कुराबाट विश्वमा रहेका नेपालीले आफू नेपाली हुनुमा गर्व गर्न सक्छन् । भर्खरै किचेनको काममा छिर्दै गरेकाहरू उनको संघर्षबाट प्ररणा लिन सक्छन् । ज्ञान नहुनेले केही न केही बेकरीको ज्ञान लिन सक्छन् भनेर हामीले सरोजको कथा हाम्रो पाठकमाझ ल्याउने जमर्को गरेका छौँ ।
धादिङको हालको त्रिपुरासुन्दरी गाउँपालिका वडा नंं ३ मा जन्मेहुर्केका सरोजले धादिङकै महेन्द्रोदय माध्यामिक विद्यालयबाट २०५४ सालमा एसएलसी सकाएर राजधानी छिरेका रहेछन् । राजधानीले छोएको विकट जिल्ला धादिङबाट काठमाण्डौ आएपछि जीवनमा संघर्ष थपिएको रहेछ । हुन त स्कुले जीवनको दैनिकीमा पनि बिहान एक भारी घाँस काटेर अथवा एक लट काम गरेरमात्र विद्यालय जानुपर्ने गरेको कुरा पनि सरोजले हामीलाई सुनाए ।
काठमाण्डौको सरस्वती क्याम्पसमा कमर्सबाट प्रवीणता प्रमाणपत्र तह पढ्दै गर्दा पनि बिहान–बिहान साइकलमा दूध बेचेको मिठो अनुभव उनीसँग छ । कलेजसँगै आइसक्रिम पसलमा काम गर्दा यी गाउँले युवालाई पेस्ट्री भनेको कुन चरीको नाम हो थाहा थिएन ।
समय बदलियो जीवनमा आफ्नो बाटो पहिल्याउने समय आयो । अब के गर्ने कता जाने यस्तै बेला आफ्ना एकजना आफन्तले राजधानीकै पाँचतारे होटलमा काम गरेको र आफ्नो कामसँग सन्तुष्ट रहेको थाहा पाएपछि सरोजले होटल म्यानेजमेन्ट पढ्ने मनस्थिति बनाएका रहेछन् र काठमाण्डौमा रविभवनमा रहेको त्यतिबेलाको सरकारी होटल म्यानेजमेन्ट बढाउने विद्यालय नाथममा भर्ना भएछन् । देशकै राम्रो तालिम केन्द्र भएकाले नाथममा भर्ना हुन त्यति सहज थिएन तर उनको भाग्य त्यहीँ कोरिएका कारणले होला सरोजलाई भने त्यत्ति गाह्रो भएन ।
नौ महिनाको तालिममा राजधानीको अर्को पाँचतारे होटल सांग्रिलामा प्राक्टिकल तालिम गर्ने अवसर मिलेको रहेछ सरोजलाई । आफ्नो सिप र क्षमता देखाएका कारण तालिमकै अवधिमा सरोजले सांग्रिलामा जागिर पाएछन् । कसरी सम्भव भयो त हाम्रो प्रश्नमा उनले भने, “प्राक्टिकल तालिम सबै डिपार्टमेन्टमा गर्नुपर्ने भएको हुँदा होटलको कुन डिपार्टमेन्टमा के पाइन्छ कुन चिज कहाँ हुन्छ भन्ने जानकारी मलाई थियो । एक दिन साँझमा डिनर भइरहेको बेला अचानक लोडसेडिङ भयो मैले स्टेवार्डिङबाट ग्यास लिएर जलाएँ । सबै पाहुना खुसी भए र मेरा लागि ताली पिटे । त्यसैको भोलिपल्ट मलाई ह्युमन रिसोर्स डिपार्टमेन्टले बोलाएर करारपत्रमा हस्ताक्षर गर्न भन्यो ।”
त्यो सरोजका लागि जागिरको पहिलो स्टेप थियो ।
सांग्रिलामा केही समय काम गरेपछि सरोजले यूएईको अबुधाबीमा रहेको त्यतिबेलाको स्याड्स नामक पाँचतारे होटलमा टेलिफोन अन्तर्वार्ता दिएर सफल भएछन् र खाडी भासिएका रहेछन्, सन् २००१ अर्थात आजभन्दा १८ बर्ष पहिला । त्यो पनि वेटरमा । सरोजको रुचि भने वेटरमा थिएन रे होटलमा काम गर्नुको फाइदा भनेको क्रस टे«निङको पनि हो ।
आफ्नो क्षमता र रुचिअनुसारको अर्को डिपार्टमेन्टमा तालिम गर्न सकिन्छ र त्यहीँ पेसा परिवर्तन गर्न सकिन्छ । सरोजमा पनि त्यही कुरा लागू हुन्छ । रुचि किचेनमा काम सर्भिसमा त्यो पनि रुम सर्भिस आफूसँग काम गर्ने सबै प्रमोसन भएर जान थालेपछि सरोज पेस्ट्रीमा तालिम गर्न थालेछन् ।
दैनिक नौ घन्टा आफ्नो कामपछि कुनै दिन त आठ घन्टासम्म तालिम गरेको सरोज बताउँछन् । त्यसपछि उनी कमिक ३ बाट पेस्ट्री बेकरीको सेफको यात्रामा लागेका रहेछन् । यूएईकै चलेको र प्रख्यात होटल इमिरेट्स प्यालेस अबुधाबीमा पेस्ट्री तथा बेकरीमा छिरेका रहेछन्, त्यो समयदेखि आजसम्म पछाडि फर्केर हिँड्नुपरेको छैन ।
कमिक सेफबाट इमिरेट्स प्यालेस छिरेका सरोज डेमी सेफ डी पार्टी भएर निस्किएका रहेछन् । लगत्तै सेफ डी पार्टिमा बनियान ट्री दुबईमा काम मिलेछ । अर्को राम्रो प्याकेजमा क्राउन प्लाजा ओमनलगत्तै रिजकार्टन होटलमा कतारको दोहा त्यही रिजकार्टनबाट टाक्सफोर्समा बहराइन गएका रहेछन् । त्यहाँ सरोज पेस्ट्री किचनको सुपरभाइजर अर्थात सेफ डी पार्टी थिए । त्यसपछि सन् २०११ मा रियाडिसन होटलको मिसुनी लक्जरी होटल ब्रान्ड कुवेतमा पेस्ट्री सुसेफको भूमिका मिलेछ ।
मिसुनीमा झन्डै ३ बर्ष काम गरेपछि दोहाको डव्लु होटलमा पुगेका रहेछन् सरोज असिस्टेन्ट पेस्ट्री सेफका रुपमा । दोहामा १ बर्ष काम गरेपछि सरोजलाई फेरि दुबईले बोलाएछ । राम्रो प्याकेज र आफ्नो सिपको मूल्यांकन हुने ठाउँमा जुनसुकै बेला जान सक्यो भनेमात्र होटल लाइनमा प्रगति गर्न सकिन्छ भन्ने भावना राख्ने सरोज दुवईको मुटु डाउनटाउनको सोफिटल होटलमा असिस्टेन्ट पेस्ट्री सेफमा आएका रहेछन् । पछि त्यहाँबाट दुबई देरा सिटिसेन्टरको पुलमेन होटलमा काम गरी सकेपछि हाल उनी मारिवटमा छन् ।
सन् २००१ मा एउटा सामान्य वेटरमा आएको ठिटो आज एउटा पाँचतारे होटलको हेड पेस्ट्री सेफ छ । संघर्ष त थुप्रै भयो तर सफलताले पुरानो घाउलाई विस्तारै पुर्दै गएको जस्तै लाग्छ यद्यपी संघर्षको कथा जिउँदै छ ।
पेस्ट्री भनेको बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म मानिसलाई चाहिने भोजन हो । ब्रेडबाट बिहान शुरु हुने मानिसको दैनिकी साँझको डेजर्ट अर्थात मिठाइसँगै सकिन्छ । त्यसैले पनि भान्साको क्षेत्रमा पेस्ट्री तथा बेकरीको ठूलो माग हुन्छ । ‘ससाना तत्वहरुलाई मिसाएर मिलाएर मिठाइ, केक, तथा चक्लेटजन्य खानाहरु बनाउनुपर्ने हुनाले पेष्ट्री धेरैलाई झन्झटिलो लाग्ने क्षेत्र हो। यहाँ त्यस्तो मान्छेमात्रै माथि जान सक्छ जोसँग धर्यता र मेहतन गर्ने बानी हुन्छ”, पेस्ट्रीको परिभाषा दिँदै सरोजले भने ।
धर्यता र मेहनतसँगै पेस्ट्रीमा हुनेहरुले हस्तकला पनि उत्तिकै राम्रो हुनुपर्ने सरोज बताउँछन् । चित्रकला हस्तकलामा विद्यालय बेलादेखि नै प्रथम स्थानमा रहेकाले पनि उनलाई पेस्ट्रीको क्षेत्रमा पनि सफलता मिलेको रहेछ । विषेश अवसरहरुमा बनाइने मिठाइ र केकहरुमा त्यसलाई आकर्षित र राम्रो देखाउन साँच्चिकै कलाको आवश्यकता पर्छ ।
विभिन्न डिजाइन र आकारप्रकारका केकहरु बनाउन पोख्त रहेका सरोजले हामीलाई आफ्ना थुप्रै कलाकृति देखाउन भ्याए । पेस्ट्रीमा जिब्रोको स्वादभन्दा पनि पहिले आँखाको स्वाद हुनुपर्छ रे सरोज भन्दै थिए, “पहिला आँखाले खाने हो, त्यसपछि जिव्रोले । स्वाद राम्रो भए पनि हेर्दा राम्रो देखिएन भने त्यो राम्रोमा गनिँदैन।”
एक समय कुवेतमा हुँदा भएको विडिङ केक कम्पिटिसनमा सरोजले बनाएको विडिङ केकले १४५ बटा प्रतिस्पर्धीलाई पछि पार्दै सिल्भर मेडलसमेत पाएको रहेछ । आफ्ना मेडल र प्रशंसापत्रहरुमा देखाइरहँदा प्रशन्न सरोजलाई हेरेर हामीले भन्यौँ आखिर सन्तुष्टि भनेको यही त हो नि ।
भनिन्छ सिकाइको कुनै उमेर र समय हुँदैन । मान्छे जहिल्यै सिकिरहन्छ हरेक कुरामा पर्फेक्ट कोही पनि हुँदैन । आज पनि सरोज आफ्नो क्षेत्रमा भएका नयाँ कुराहरु सिक्न अध्ययन गरिरहन्छन् । उनको दुबईस्थित डिस्कोभरी गार्डेनमा रहेको घरमा कितावको निकै ठूलो खात देखियो । क्यारियस सुरु गरेपछि उनी विश्व चर्चित फ्रान्सको टप पेस्ट्री स्कुलमा मोडर्न पेस्ट्री टेक्निकसम्बन्धी अध्ययन गर्नसमेत गएका रहेछन् । “पहिले क्यारियस सुरु गर्दा थुप्रै काम गरियो काम अहिले पनि गरिरहिन्छ तर कामको प्रकृति फरक छ”, सरोज भन्छन् ।
अहिले सरोजले गर्ने काम भनेको होटलमा भएका सबै रेस्टुरेन्टमा पेस्ट्री बेकरीको निरीक्षण नियन्त्रण गर्नुका साथै आफ्ना स्टाफले गरेको कामको मूल्यांकन गर्ने टेस्ट गर्ने र नयाँ मिठाइजन्य पदार्थको रेसिपी तयार गर्ने हो । अरुले गरेको काम आफूलाई मन नपर्दासम्म आफँै खट्नुपर्छ किन कि काम राम्रो भए नभएको गुण या दोष पछि आफँैले भोग्नुपर्छ ।
चार दिदीबहिनीका एउटा प्यारो भाइ सरोज अहिले भने दुई छोराका पितासमेत हुन् । विश्वका सेफहरुको संगठन वल्र्ड सेफ एसोसियसनबाट मान्यता प्राप्त निणायकसमेत रहेका थापा बेलाबेला हुने प्रतिस्पर्धाहरुमा निर्णायकको कुर्सीमा पनि भेटिन्छन्। गत बर्ष मध्यपूर्वको प्रतिनिधित्व गर्दै सेफ एसोसियसनकोे निमन्त्रणामा जर्मनी गएर तालिम लिएका रहेछन्।
सफलता कसरी हासिल गर्ने तात्तातो जोश भएका युवालाई के भन्नुहुन्छ भन्ने बिजशालाको प्रश्नमा सरोजले परिश्रम र लगावमा ध्यान दिन सुझाव दिने बताए । पैसालाई सफलतासँग तुलना गर्न नहुने उनको भनाइ थियो । पैसा त सबैले कमाउँछन् तर आफ्नो परिवारलाई खुसी दिनु पनि सफलताको एउटा पार्ट भएको सरोजको भनाइ थियो । “राम्रो काम गर्ने मान्छेको माग धेरै हुन्छ, त्यसैले राम्रो काम गर्दे जानुहोस् तपाइँको माग त्यत्तिकै बढ्छ”, उनले भने ।
जीवनलाई संघर्षसँगै भोगाइको संज्ञा दिने यी युवा आफ्नो मनले सोचेको अथवा भित्री मनले अह्राएको कुरालाई मर्न दिनुहुँदैन भन्ने विचार राख्छन् । जुन कुरामा आफ्नो इच्छा छ त्यही काममा अगाडि बढ्नुपर्ने बताउँछन् सरोज ।
छोटो बसाइमा हामीले सरोजको भविष्यका योजनाबारे पनि सोध्यौँ । उनले नेपालमै राम्रो यस्तो पनि नेपालमा छ है भन्ने खालको पेस्ट्री खोलेर बस्ने कुरा बताए । तर सरकारी कर्मचारीको काम गर्ने शैली भने उनलाई पटक्कै मन परेको रहेनछ । “त्यस्तो शैली भएका सरकारी कर्मचारीबाट कसरी सेवा लिएर बस्ने हो घरिघरि त देश फिर्ने मन पनि मरेर आउँछ’’, उनी भन्दै थिए ।
हामीले छोटो कुराकानी टुंगायौँ र छुट्यौँ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago