काठमाण्डौ । म्युचुअल फण्डहरुले साउन महिनाको वित्तीय विवरण धमाधम प्रकाशन गरिरहेका छन् । 

उनीहरुको वित्तीय विवरणमा दोश्रो बजारमा आइरहेको निरन्तर गिरावटको प्रभाव प्रष्ट देखिएको छ । 

दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमै बढी लगानी गरेका यस्ता फण्डहरु बजार घटेका कारण निकै ठूलो घाटामा जान थालेका उनीहरुको वित्तीय विवरणबाट देखिन्छ । 

विज्ञ समूहलाई राखेर सबै कम्पनीको अवस्था जाँचबुझ गरी लगानी गर्ने र सर्वसाधारणका लगानी बढी सुरक्षित ठानिने यस्ता फण्डहरुले समेत बजार घटेको बेला कुनै चमात्कार गर्न सकेका छैनन् । 

विज्ञहरुको निर्णयको आधारमा लगानी गर्ने भनिए पनि फण्डहरुले समेत सर्वसाधारणले झै निरन्तर घाटा व्यहोरेका छन् भने बजारको गिरावटमा समेत आशालाग्दो काम गर्न सकेको दखिएको छैन । यसले म्युचुअल फण्डहरुले अहिले लिइरहेको बजार रणनीति समेत फेल भइरहेको प्रष्ट बुझ्न सकिन्छ । 

बजार घटेर आफ्नो पोर्टफोलियोमा गम्भीर प्रभाव परेको भनेर अत्तालिइरहेका सर्वसाधारणका लागि म्युचुअल फण्डहरुको अवस्था चित्त बुझाउने उदाहरण हुनसक्छ ।  

यो क्रममा कुन फण्डले कस्तो प्रदर्शन गरे ? पढौं:
एनएमबीका म्युचुअल फण्ड

एनएमबी क्यापिटलको प्रबद्र्धन र एनएमबी बैंकको प्रायोजनामा संचालित दुवै म्युचुअल फण्डहरुको नेट एसेट भ्यालू(न्याभ) घटेको छ।

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को न्याभ अघिल्लो महिना ११.९२ रुपैयाँ रहेकोमा घटेर साउनमा १०.५१ रुपैयाँमा सीमित बन्न पुगेको छ।

पाँच वर्षे यो स्किमको साउनसम्मको खूद नाफा ७० लाख ७० हजारमा सीमित बन्न पुगेको छ । 

रु. ७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले साउनसम्ममा ७ करोड २७ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, ७४ लाख ३८ हजार सार्वजनिक निकाश्सनमा तथा १७ करोड ४० लाख रुपैयाँ ऋणपत्रहरुमा लगानी गरेको छ । 

यो स्किमको कुल बैंक ब्यालेन्स ६४ करोड १७ लाख रुपैयाँ रहेको छ । यो स्किम २०७६ कात्तिक ३ गते परिपक्व हुँदैछ । 

कुल लगानीमध्ये यो स्किमले नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक, नवील बैंक लगायतका कम्पनीको संस्थापक सेयरमा ठूलो लगानी गरेको छ । 

एनएमबीकै अर्को म्युचुअल फण्ड एनएमबी हाइब्रीड फण्ड एल-१ को न्याभ समेत असारको तुलनामा साउनमा घटेको छ । असार मसान्तसम्म ११ रुपैयाँ १ पैसा रहेको न्याभ घटेर साउनमा १० रुपैयाँ ४ पैसामा सीमित बन्न पुगेको हो । 

यो स्किम १ अर्ब रुपैयाँको आकारको हो । यो स्किमले ३५ करोड १६ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, १ करोड ४५ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयर तथा १३ करोड ५० लाख रुपैया ऋणपत्रहरुमा लगानी गरेको छ । 

यो स्किमले १० करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ भने ५० करोड ३१ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको छ । 

यो स्किमको अघिल्लो महिना ७ करोड ४४ लाख रहेको नाफा घटेर साउन मसान्तसम्म ३३ लाख २ हजारमा सीमित बन्न पुगेको छ । 

यो स्किमले पनि नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकका संस्थापक सेयरमा बढी लगानी गरेको छ । 

एनआइबिएल म्युचुअल फण्ड
सात वर्षे अवधिको एनआइबिएल समृद्धि फण्ड-१ को न्याभ समेत घटेको छ । अघिल्लो महिना १०.६९ रुपैयाँ रहेको न्याभ घटेर साउन मसान्तसम्ममा १०.५६ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

कुल एक अर्बको आकारबाट सुरु भएको यो स्किमले ७३ करोड ६६ लाख सूचिकृत कम्पनीको सेयरमा, २४ लाख ६० हजार सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा र ५ करोड ऋणपत्रमा लगानी गरेको छ । यो स्किमले १० करोड मुद्धती निक्षेपमा र १९ करोड ५४ लाख बैंक ब्यालेन्समा राखेको छ । 

असारमा ६ करोड ३ लाख खूद नाफामा रहेको यो स्किम साउनमा भने ५ करोड ६० लाख घाटामा गएको छ । 

एनआइबिएल प्रगति फण्डको न्याभ ८.२८ रुपैयाँबाट घटेर ८.२१ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

सात वर्षे यो स्किम ७५ करोड रुपैयाँ आकारको हो । स्किमले ५६ करोड ४२ लाख रुपैयाँ सूचिकृत कम्पनीमा, ३२ लाख ३९ हजार हकप्रद, बोनस सेयर र सार्वजनिक निश्कासनमा, ५ करोड ५७ लाख ऋणपत्रहरुमा लगानी गरेको छ । 

असार मसान्तसम्म३ करोड ५४ लाख नाफामा रहेको यो स्किम साउन मसान्तसम्म १८ करोड १८ लाख घाटामा गएको छ । 

देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डको रुपमा संचालित एनआइबिएल सहभागिता फण्डको न्याभ साउन मसान्तमा ९.९५ रुपैयाँ रहेको छ । यो फण्डको परिपक्व हुने निश्चित अवधि हुँदैन । नेप्सेमा यसका इकाई खरीदबिक्री पनि हुँदैनन् । यो फण्डले पहिलो चरणमा १२ करोड ५ लाख रुपैयाँ बराबरको इकाई सर्वसाधारणमा निश्कासन गरेको थियो । 

यो स्किमले साउन मसान्तसम्म ३ करोड ४२ लाख सूचिकृत कम्पनीको सेयरमा, ६ लाख ४० हजार  सार्वजनिक निश्कासन, हकप्रद बोनस सेयरमा, २ करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ भने बैंक ब्यालेन्समा १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । 

असार मसान्तसम्म ८ लाख ६५ हजार रहेको घाटा साउनमा गएर  ३ लाख २० हजार नाफामा परिणत भएको देखिएको छ । 

लक्ष्मी म्युचुअल फण्ड
लक्ष्मी म्युचुअल फण्डअन्तरगत संचालित दुवै स्किमको न्याभ समेत घटेको छ । 

पाँच वर्षे अवधिको बन्दमुखी स्किम लक्ष्मी भ्यालू फण्ड १ को न्याभ असारको ११.५८ रुपैयाँबाट घटेर साउनमा ९.९४ मा सीमित बन्न पुगेको हो । 

रु. ५० करोडबाट सुरु भएको यो स्किमले समीक्षा अवधिसम्म २४ करोड ९२ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, ६ लाख ३० हजार आइपीओमा लगानी गरेको छ । 

यो स्किमको ५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी छ भने १९ करोड ५७ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको छ । यो स्किमको साउनसम्मको कुल घाटा ९ करोड ३९ लाख रुपैयाँ रहेको छ । 

यसैगरी, सात वर्षे अवधिको लक्ष्मी इक्वीटी फण्डको न्याभ समेत ९ रुपैयाँ १० पैसाबाट घटेर ८ रुपैयाँ ९२ पैसामा सीमित बन्न पुगेको छ । 

कुल १ अर्ब २५ करोडको साइजबाट सुरु भएको यो स्किमले ८७ करोड ५१ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, २५ लाख ७३ हजार आइपीओमा, २ करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ । रु. ६ करोड मुद्धती निक्षेपमा छ भने १६ करोड ५१ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको छ । 

असार मसान्तसम्म १६ करोड १५ लाख रुपैयाँ रहेको घाटा बढेर साउन मसान्तसम्म २२ करोड २२ लाख पुगेको छ । 

नवील म्युचुअल फण्ड
नवील म्युचुअल फण्ड अन्तरगत संचालित दुवै स्किमको न्याभमा समेत सामान्य गिरावट आएको छ । 

सात वर्षे अवधिका नवील इक्वीटी फण्डको न्याभ ९ रुपैयाँ २ पैसाबाट घटेर ९ रुपैयाँ १ पैसामा सीमित बन्न पुगेको छ । 

कुल १ अर्ब २५ करोडबाट सुरु भएको यो स्किमले समीक्षा अवधिसम्म ६५ करोड ३५ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, २ करोड ३३ लाख रुपैयाँ सूचिकृत नभइसकेका सेयरमा, १२ करोड ५० लाख रुपैयाँ मुद्धति निक्षेपमा लगानी गरेको छ । 

असार मसान्तसम्म ४ करोड ४७ लाख रुपैयाँ नाफामा रहेको यो स्किम साउन मसान्तसम्ममा भने ९ लाख २८ हजार घाटामा छ । 

दश वर्षे अवधिको बन्दमुखी स्किम नवील ब्यालेन्स फण्ड टू को न्याभ १० रुपैयाँ ४ पैसाबाट घटेर १० रुपैयाँमा सीमित बन्न पुगेको छ । 

कुल १ अर्ब १२ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले समीक्षा अवधिसम्म २३ करोड ९३ लाख सूचिकृत कम्पनीको सेयरमा, २ करोड ९ लाख सूचिकृत नभएका कम्पनीको सेयरमा, ११ करोड २० लाख मुद्धती निक्षेपमा तथा ११ करोड ६१ लाख रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ । 

असार मसान्तसम्म ४४.९७ लाख रुपैयाँ नाफामा रहेको स्किम साउन मसान्तसम्म आइपुग्दा भने ४० लाख २७ हजार घाटामा गएको छ । 

ग्लोबल आइएमई म्युचुअल फण्ड
ग्लोबल आइएमई क्यापिटलको प्रवद्र्धन र ग्लोबल आइएमई बैंकको व्यवस्थापनमा संचालित ७ वर्षे अवधिको ग्लोबल आइएमई समुन्नत स्कीम वानको न्याभ समेत घटेको छ । 

असार मसान्तसम्म ८ रुपैयाँ ९२ पैसा रहेको न्याभ घटेर साउन मसान्तसम्म ८ रुपैयाँ ७६ पैसामा सीमित बन्न पुगेको हो । 

रु. १ अर्बबाट सुरु भएको यो स्किमले समीक्षा अवधिसम्म सूचिकृत कम्पनीको सेयरमा ८१ करोड ३१ लाख रुपैयाँ, ५ करोड १७ लाख रुपैयाँ सूचिकृत नभएका कम्पनीको सेयरमा, १ करोड ५० लाख रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ । 

असार मसान्तसम्म १७ करोड  १५ लाख रुपैयाँ घाटामा रहेको यो स्किमको घाटा अझै बढेर साउन मसान्तसम्म १९ करोड २ लाख पुगेको छ ।