काठमाण्डौ । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु भएसँगै बजार चम्किन थालेको छ । 

‘बिग मर्जर’का लागि भएका कतिपय प्रयासहरुका खबर सार्वजनिक भएसँगै लगानीकर्ताहरुले धमाधम वाणिज्य बैंकहरुको सेयर उठाउन थालेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो । 

‘बिग मर्जर’कै कारण बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढ्यो । नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरीसँगै स्वभाविक कारोबारको आकार समेत बढ्न थालेको छ । 

नेप्से इण्डेक्ससँगै कारोबार(टर्नओभर) समेत समानान्तर ढंगले बढ्न थाल्नु बजारको भविष्यका लागि ‘सुखद संकेत’ रहेको विश्लेषक बताउँछन् ।

मंगलबारदेखि नेप्सेमा यस्तै सुखद संकेतहरु देखिन थालेका छन् । 

बुधबार नेप्से परिसूचक १५.६२ अंकले बढेर १२६८.६८ को विन्दूमा पुगेको छ । 

राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ३.०२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.१३ अंकको बढोत्तरी भएको छ । 

यो दिन बजारका सबै उपसमूहको सूचक हराभरा भएका छन् । 

बैंकिङ समूह १३.७६ अंकले बढेको यो दिन विकास बैंक समूहमा १४.३९ अंक, माइक्रोफाइनान्स समूहमा २६.०२ अंक, बित्त समूह २.९५ अंक, होटल समूहमा १.६९ अंक, जलविद्युत समूहमा १४.९४ अंकको बढोत्तरी भएको छ । 

जीवन बिमा समूह ९४.९३ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा ९३.४१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १८.४६ अंक, म्युचुअल फण्ड समूहमा ०.०६ अंक र अन्य समूहमा ८.५७ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता सेयर ५५ करोड २ लाख ४७ हजार ८१३ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेपाल बैंकले ४ करोड ५३ लाख बढीको कारोबार गरेको छ भने सेञ्चुरी कमर्सियल बैंकले ३ करोड ४० लाख बढीको कारोबार गरेको छ । 

मेगा बैंकले ३ करोड २६ लाख, प्रभू बैंकले ३ करोड ३ लाख, सिभिल बैंकले ३ करोड २ लाख, शिवम सिमेन्टले १ करोड ९० लाख, जनता बैंकले १ करोड ७९ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ४७ लाख, एनसीसी बैंकले १ करोड ४१ लाख  बढीको कारोबार गरेका छन् । यो दिन मेगा बैंकको १ करोड ३८ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सूर्योदय लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढ्यो । 

रिलायन्स फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो दिन कम्पनीको सेयर मूल्यमा ६.०६ प्रतिशतको गिरावट आयो ।