काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत बिहीबार गरेको मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितोकर्जामा पुनरावलोकन गर्ने घोषणा गरेपछि आज आइतबार नेप्से परिसूचक पहिरो गई निर्धारित कारोबार समय अगावै बजार बन्द भएको छ।

साताको पहिलो धितोपत्र कारोबार दिन आइतबार नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १२३.३४ विन्दुले गिरावट आई कारोबार निर्धारित समयअगावै बन्द हुन पुगेको हो। नेप्सेको उत्तारचढावलाई नियन्त्रण गर्न सर्किट ब्रेकरको व्यवस्था छ। सोही व्यवस्थाबमोजिम बजार ६ प्रतिशतले गिरावट आउँदा नेप्सेमा भारी पहिरो गएको हो।

बजार पुँजीकरण र इन्डेक्सलाई समेत सोझै असर गर्ने नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको सेयरमूल्यमा १० प्रतिशतले गिरावट आएका कारण बजारमा उच्च अंकले पहिरो गएको हो। यी कम्पनीहरुका सेयर कर्नरिङ गर्दै उच्च मूल्यमा सोझासाझा लगानीकर्तालाई उच्च मूल्यमा भिडाउने प्रयास भइरहेको गत साता खुलासा भएको थियो। 

पछिल्लो समय लगानीकर्ताहरुको मनोबल उच्च भइरहेको बेला राष्ट्र बैंकले सेयर धितोकर्जामा पुनरावलोकन गर्ने अर्थात् हाल कायम ७० प्रतिशत मार्जिनको सीमालाई केही तल ल्याउने नीति लिन लागेका कारण लगानीकर्ताको मनोबल गिरेको छ। बजार बढ्दो क्रममा रहँदा अन्धाधुन्ध कम्पनीका सेयरमा लगानी गरिरहेका लगानीकर्ताले यथोचित मूल्यभन्दा पनि आधारभूत तथा प्राविधिक विश्लेषण नै नगरी हौसिएर उच्च मूल्य हाल्ने प्रवृत्तिकै कारण अनि साना तथा नयाँ लगानीकर्ताको प्यानिक सेलले आज नेप्सेमा पहिरो गएको विश्लेषकहरुको भनाइ छ।

बजार घटेपछि बढ्छ र बढेपछि घट्छ पनि तर आफ्नो क्षमता नै बिर्सेर ब्रोकरसँग उधारो लिमिट लिई क्षमताभन्दा बढी कारोबार गर्ने प्रवृत्तिले समेत बजार अस्वभाविक रुपमा बढेको थियो र बजार करेक्सन आउनुपर्ने जानकारहरुको जिकिर छ। बजारको प्यानिक सेल अब झन् केही दिन कायम रहने र यो अवस्थाबाट अब केही दिन गुज्रपछि मात्र बजारले केही सकारात्मक लय समात्ने विश्लेषकहरु दाबी गर्छन्।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा रातो पोतिएको छ।

यो जीवन बीमा समूहमा सर्वाधिक १०४०.८१ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूह ५६९.२५ अंकले ओरालो लागेको यो दिन बैंकिङ समूह ६४.९० अंक, विकास बैंक समूह ७६.२७ अंक, वित्त समूह १९.५३ अंक, होटेल्स् समूह ८१.९९ अंक, जलविद्युत् समूह ८६.५१ अंक, उत्पादन तथा प्रशोधन समूह ३६२.४१ अंक, लघुवित्त समूह २२४.१९ अंक, म्युचुअल फन्ड समूह ०.२० अंक, अन्य समूह १६४.०९ अंक र व्यापार समूह १५९.५४ अंकले घटेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २३१ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ४४ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल टेलिकमको ३२ करोड १० लाख रुपैयाँ, माथिल्लो तामाकोशीको २९ करोड ५४ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २८ करोड ६६ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १९ करोड ४३ लाख रुपैयाँ, नबिल बैंकको १७ करोड ९५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १५ करोड ८८ लाख रुपैयाँ, प्रभु बैंकको १४ करोड ६६ लाख रुपैयाँ र नेपाल बैंकको १४ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य २ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन १२ वटा कम्पनीका सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। डेप्रोक्स लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घट्दा नेपाल पुनर्बीमा कम्पनी, सेन्जेन जलविद्युत् कम्पनी, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, हिमालयन जनरल इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स र नेको इन्स्ुरेन्सको सेयरमूल्य १० प्रतिशतका हाराहारीमा ओरालो लागेको छ। आज ६ वटा कम्पनीका सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले र ५ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा घटेको छ।