काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादनहरुमा छुटको घोषणा गरेको छ। 

डीडीसीले शनिबार एक सूचना जारी गर्दै आफ्ना १४ प्रकारका वस्तुमा छुटको घोषणा गरेको हो। यो सहुलियत हालका लागि लैनचौर बिक्री केन्द्रमा लागू हुने डीडीसीले जनाएको छ। 

डीडीसीले प्रतिलिटर घिउमा ५० रुपैयाँ छुट दिनेछ। जसअनुसार १ हजार २०० रुपैयाँदेखि १ हजार २५० रुपैयाँसम्मको साबिकको मूल्यलाई घटाएर १ हजार १५० रुपैयाँदेखि १ हजार २०० रुपैयाँ कायम गरिएको छ। 

त्यस्तै प्रतिकिलो पनिरमा १०० रुपैयाँ छुट दिइएको छ। टेबल बटरमा प्रतिकिलो २०० रुपैयाँसम्म छुट डीडीसीले दिनेछ। 

यसैगरी प्रतिलिटर जार दहीमा १५ रुपैयाँ, पोली दहीमा १४ रुपैयाँ, प्रोबायोटिक दही जारमा २० रुपैयाँ छुट दिने डीडीसीले घोषणा गरेको छ।