काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ। आज कारोबार रकम पनि सवा १ अर्ब रुपैयाँमा सीमित हुन पु्गेको छ।
आज नेप्से परिसूचक ५.६६ अंकको गिरावटका साथ १५५६.८० को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८१ अंकले ओरालो लाग्दै ३०८.२७ को विन्दुमा सीमित बनेको छ।
चाडपर्व सुरु भएपछि सेयर बजार पनि सुस्त हुन्छ। भर्खरै त्रैमासिक किस्ताले परिसूचकमा परेको असरमा नजिकिँदो पर्वले समेत प्रभावित बनेको विश्लेषकहरुको भनाइ छ।
आज सेयर बिक्री गर्दा आगामी बुधबार भुक्तानी पाइने भएका कारणसमेत सेयरको आपूर्ति व्यापक भएको विश्लेषकहरुको भनाइ छ। नजिकिँदो दसैंको खर्च जोहो गर्न लाग्दासमेत बिक्रीचाप हावी भई परिसूचकमा दबाब परेको उनीहरुको दाबी छ।
यसैगरी चाडपर्वको आगमनसँगै लगानीकर्ताहरु आआफ्नो घरठाउँ जाने र चाडपर्वका कारण केही दिन बजार प्रभावित हुने हुँदा सेयर खरिद प्रभावित बन्न पुगेको विश्लेषकहरु बताउँछन्। उसो त आज लगानीकर्ताहरु सेयर किनबेचमा कम सक्रिय हुँदा कारोबार संख्या, कारोबार रकमलगायतमा समेत प्रभाव परेको छ।
यता हाइड्रोपावर कम्पनी र वित्त कम्पनीका सेयरमूल्यमा अझै करेक्सन जारी रहेको छ। अघिल्ला साता हाइड्रो र वित्त कम्पनीहरुमा बहार आइरहँदा पछिल्लो समय ती कम्पनीहरुको सेयरमूल्यमा बिक्री हावी भई करेक्सन जारी रहेको विश्लेषकहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ। बाँकी १० वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह ३१.६८ अंक र व्यापार समूह १३.२ अंकले बढेका छन्।
आज विकास बैंक समूहमा सबैभन्दा धेरै २९.१९ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा १८.९८ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ६.०२ अंक, होटेल्स् समूह १.८२ अंक, जलविद्युत् समूह ५.०६ अंक, वित्त समूह १.६ अंक, उत्पादन तथा प्रशोधन समूह १४.४२ अंक, अन्य समूह १.५४ अंक, लघुवित्त समूह ११.२३ अंक र म्युचुअल फन्ड समूह ०.०४ अंकले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत १८७ कम्पनीका ४३ लाख ५२ हजार १० कित्ता सेयर १ अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ रुपैयाँको कारोबार भएको छ।
आज हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक २४ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेपा पुनर्बीमा कम्पनीको ४ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन आईसीएफसी फाइनान्सको ३ करोड ९५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ९५ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ५२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ७६ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको संस्थापक सेयर २ करोड ४६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ४२ लाख रुपैयाँ र कुमारी बैंकको २ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यो दिन राइराङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago