काठमाण्डौ । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आज असोज २१ गतेबाट देशभर सञ्चालन गर्ने भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्ती मन्त्रालयअन्तर्गतका विभिन्न निकायले दसैँ, तिहार र छठलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ पसल सञ्चालन गर्न लागेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुनेछन्। 

काठमाण्डौ उपत्यकामा ती तीनै निकायका बिक्री केन्द्र र ३ वटा घुम्ती पसल गरी ३५ स्थानबाट उपभोक्ताले सहुलियतमा खाद्यान्न खरिद गर्न पाउनेछन्। खाद्य व्यापार कम्पनीले उपत्यकामा ४ वटासहित ४२ जिल्लाका ४८ स्थानमा सुपथ पसल सञ्चालन गर्नेछ। कम्पनीले सहुलियत मूल्यमा खाद्यान्नको अनलाइन डेलिभरी पनि गर्नेछ। 

कम्पनीले काठमाण्डौका रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गर्नेछ।साल्ट्र ट्रेडिङले भने काठमाण्डौका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफल सुपथ पसल सञ्चालन गर्नेछ।

केमा कति छुट ?

उपभोक्ताले चामल, दाल, गहुँ, आटा, पीठो र तेल सहुलियतमा पाउनेछन्। कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसी–बोकासमेत बिक्रीवितरण हुनेछन्। उपभोग्य किलो वा लिटरमा ७ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ। 

उपभोक्ताले चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाउनेछन्। नुनमा प्रतिकिलो २ रुपैयाँ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने साल्ट ट्रेडिङले जनाएको छ। 

उता घिउमा प्रतिकिलो २० रुपैयाँ र पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ छुट उपभोक्ताले पाउनेछन्।