काठमाण्डौ । लामो समयदेखि सेयर बजारमा २००० को विन्दुभन्दा तल कारोबार भइरहेको थियो। गत अगस्ट २९ मा २००० को विन्दुभन्दा तल झरेको बजार ठीक ४ महिनापछि डिसेम्बर २९ अर्थात आज पुनः २००० विन्दुभन्दा माथि बन्द भएको छ। यसले बजार अब नयाँ यात्रा तय गर्दै गरेको बुझिन्छ। 

गत अगस्टमा २००० को विन्दुभन्दा तल झरेको बजारले गत सेप्टेम्बर १३ मा १९०६ को विन्दुमा सपोर्ट लिएर पुनः १९९० को विन्दुसम्म पुगेको थियो। त्यहाँबाट खसेको बजारले अर्को न्यून विन्दु गत सेप्टेम्बर २५ मा १८०६ को विन्दुमा बनाएको थियो। त्यहाँबाट फर्केको बजारले पुनः गत नोभेम्बर ७ मा त्यही विन्दु १९९० को विन्दुमै प्रतिरोध सामना गरेको थियो। 

त्यहाँबाट पनि खसेको बजार तलमाथि गर्दै गत डिसेम्बर १९ मा १८५० को विन्दुमा सपोर्ट लिएर आज २०२९ को विन्दुमा बन्द भएको छ। यसरी समग्र रुपमा बजारलाई हेर्दा १८०० को विन्दुदेखि २००० को विन्दुसम्म विगत ४ महिनामा पाँचौँपटक तल–माथि गरेर पुनः माथिको यात्रा तय गरेको छ। 

अबको यात्रा कता ?

आज भोलुमसहित गतिलो बाउन्स आएको बजारले अब यसअघिको प्रतिरोध विन्दु २०८८ मा बलियो प्रतिरोध सामना गर्न सक्छ। यदि त्यहाँबाट पनि माथि जान्छ भने बजारले यसअघिको प्रतिरोध विन्दु २२२२ तिर अर्को प्रतिरोध सामना गर्न सक्छ। तेस्रो प्रतिरोध भने बजारले यसअघिको बलियो सपोर्ट २३७० मा सामना गर्न सक्छ। 

यदि आगामी दिनमा बजार घटेमा १९९० देखि २००० सम्मको कुनै पनि विन्दुमा सपोर्ट लिन सक्छ। त्यहाँबाट पनि तल झरेमा बजारले १९६० को विन्दुमा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।