– अर्जुन तिमिल्सिना
काठमाण्डौ । उद्योगी–व्यवसायीको आन्दोलन र सरकारको दबाबपछि नेपाल राष्ट्र बैंकले अन्ततः आज चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ।
राष्ट्र बैंकले चालुपुँजी कर्जामा संशोधन गर्ने खबरले आज सेयर बजारमा उछाल आएको छ। राष्ट्र बैंकले विशेषगरी चालुपुँजी कर्जा मार्गदर्शनमा उद्योगी–व्यवसायीले सोचेभन्दा बढी खुकुलो नीति लिएपछि त्यसको प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव सेयर बजारमा परेको देखिन्छ।
बजार जानकार वीरेन्द्र बिष्ट राष्ट्र बैंकले चालुपुँजी कर्जामा संशोधन गरेर उद्योगी–व्यवसायी कर्जा सेटलमेन्टमा माग गरेभन्दा बढी सहजता प्रदान गरेको बताउँछन्। ‘उद्योग–व्यवसायी कम्तमिा २ वर्ष रिसेड्युलको माग राखेका थिए’, उनले भने, ‘तर, राष्ट्र बैंकले त्यसलाई साढे २ वर्ष बनाएको छ। योसँगै वर्ष–वर्षमा कर्जा नवीकरणको सुविधा पनि दिइएको छ।’
राष्ट्र बैंकको संशोधित व्यवस्थाले तरलता सहज हुने र ब्याजदर पनि घट्ने बिष्ट बताउँछन्। ‘योसँगै बैंक डिफल्ट हुनबाट जोगिने अवस्था सिर्जना भएको छ’, उनले भने।
बिष्टले अब चालुपुँजी कर्जाको रकम सेयर बजारमा पनि आउन सक्ने भएकोले अब बजारमा सकारात्मक प्रभाव पर्ने दाबी गरे। ‘यिनै कारणले अब लगानीकर्ताको मनोबल पनि बढ्ने देखिन्छ’, उनले भने, ‘अब बजारले लय समात्नेमा दुई मत छैन।’
अर्का बजार जानकार प्रेम ओलीले उद्योगी–व्यवसायीको हितमा राष्ट्र बैंकले चालुपुँजी कर्जामा गरेको संशोधनले सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने बताउँछन्। ‘राष्ट्र बैंकले चालुपुँजी कर्जामा संशोधन गर्नुलाई सेयर बजारका लगानीकर्ताले सकारात्मक दृष्टिकोणबाट हेरेका छन्’, उनले भने, ‘अब राष्ट्र बैंकले सेयर बजारमैत्री नीति पनि ल्याउनेमा लगानीकर्तामा आशा बढेको छ। यसैले गर्दा लगानीकर्ताको मनोबल बढेको छ।’
अब राष्ट्र बैंकले ब्याजदर घटाउन पहल गर्ने आशा पनि लगानीकर्तामा बढेको ओली बताउँछन्। ‘आज बिहान प्रधानमन्त्रीले पनि अर्थमन्त्री र गभर्नरलाई बोलाएर ब्याजदर घटाउन र तरलता सहज बनाउने खालको नीति ल्याउन निर्देशन दिएका थिए’, उनले भने, ‘अर्थमन्त्री सेयर बजारप्रति पोजिटिभ नै छन्। त्यसैले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि ब्याजदर घटाउने खालको नीति अवलम्बन गर्नेमा लगानीकर्ता ढुक्क देखिन्छ।’
चौतर्फी रुपमा सकारात्मक महौल बनेकोले अब सेयर बजारले गति लिन सक्ने ओली बताउँछन्। ‘पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सेयर बजारले थप गति लिन सक्छ’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19