काठमाण्डौ । सेयर बजारमा चालु आर्थिक वर्षको सुखद् बिदा गरेको छ। 

आज असार ३१ गते छ। चालु आर्थिक वर्षको अन्तिम दिन। यो दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। 

बजार आज १२.१६ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २०९७.०९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९० अंकले बढेर ३९४.१५ को विन्दुमा पुगेको छ। कारोबार रकम भने २ अर्ब ३७ करोड रुपैयाँबराबरको भएको छ। 

बजार जानकार महेश रिजाल आजको बजार बढाइले लगानीकर्ताको मनोबल बढ्दै गएको प्रस्ट हुने बताउँछन्। ‘ब्रोकरको सेलटमेन्ट बाँकी भएकोले भोलुम नआएको हो’, उनले भने। 

बैंकहरुले नियत प्रस्ट नदेखिएको पनि रिजाल बताउँछन्। ‘केही बैंकहरुले ब्याजदर बढाएका छन्, अहिले बढाउनुपर्ने अवस्था थिएन’, उनले भने, ‘बैंकहरु बजार बिग्रार्ने रणनीतिमा लागेको देखिएको छ। तर, बजार बढ्नुले लगानीकर्ताको मनोबल बढ्न थालेको देखिन्छ।’

मौद्रिक नीति आउँदासम्म बजार २२०० पुग्ने रिजालको भनाइ छ।‘मौद्रिक नीतिमा जोखिम भार १०० प्रतिशतमा झार्ने सम्भावना छ’, उनले भने, ‘त्यसैले आत्तिनुपर्ने अवस्था छैन। बजारले लय समात्छ।’

अर्का बजार जानकार अर्जुन थापा पनि अब बजार बढ्नेमा ढुक्क हुन सकिने बताउँछन्। ‘कर्जा ११–१२ प्रतिशत ब्याजदरमा पाइन्छ’, उनले भने, ‘तरलता पनि थुप्रिएको छ। त्यसैले बजार सकारात्मकै हुन्छ।’ 

राम्रा र बलिया कम्पनीमा लगानी गर्दा प्रतिफल राम्रै पाइने थापाको भनाइ छ। 

आज बैंकिङ सेक्टर पनि चलेको थापाले बताए। ‘अब लगानीकर्ताहरु बैंकतिर डाइभर्ट हुनेछन्’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह १.३३ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.५४ प्रतिशत, लगानी समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.९७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९६ प्रतिशत र अन्य समूहमा ०.४२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह सर्वाधिक ०.७३ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.२२ प्रतिशतले घट्दा वित्त समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.०६ प्रतिशत र व्यापार समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका ७१ लाख ८४ हजार २५४ कित्ता सेयर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७४ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १९ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको आज माउन्टेन इनर्जी ९ करोड ८४ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको संस्थापक सेयरको ७ करोड ६२ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ४४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयरको ५ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ३६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाख रुपैयाँ र निफ्राको ३ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ग्रामीण विकास लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन लिबर्टी इनर्जी र मकर जितुमाया सुरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लघुवित्तको सेयरभाउ करिब ६ प्रतिशतले ओरालो लागेका छन्।