काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून भएको छ।

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार साउनमा लक्ष्यको ८२.३३ प्रतिशतमात्रै राजस्व संकलन भएको छ। चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै संकलन भएको विभागले जनाएको छ। गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन।

साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर संकलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजारबराबर मात्रै संकलन भएको छ। आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२.४३ प्रतिशतबराबर हो।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१.९७ प्रतिशतमात्रै उठेको छ। साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजारबराबर भ्याट संकलन गर्ने लक्ष्य राखिएकोमा ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजारबराबर मात्रै उठेको देखिएको हो।

अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा ७ अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ। जुन लक्ष्यको ७२.६१ प्रतिशत हो।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ। पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् २२ करोड २० लाख ६ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ प्रतिशत अर्थात् ६५ करोड ७१ लाख ६३ हजारबराबर उठेको छ। शिक्षा सेवा कर पनि मासिक लक्ष्यभन्दा बढी उठेको छ। साउनका लागि यो शीर्षकमा २० करोड ४५ लाख १ हजारबराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा २८ करोड ९६ लाख १७ हजार बराबर उठेको छ। जुन लक्ष्यभन्दा ४१.६२ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो। गत आर्थिक वर्ष साउनमा सरकारले ३९ अर्ब ८६ करोड ३४ लाखबराबर आन्तरिक राजस्व उठाएको थियो।

गत आर्थिक वर्ष २०७९–८० का लागि सरकारले ६ खर्ब २६ अर्ब ६१ करो बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६.५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोडबराबर मात्रै संकलन भएको थियो। चालु आर्थिक वर्षका लागि सरकारले ६ खर्ब ७७ अर्ब ७३ करोबराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ।

- RSS