काठमाण्डौ । बेलायतबाट फर्किएपछि कोरोना संक्रमण पुष्टि भएको चितवनका आमाछोरामध्ये छोरा आज डिस्चार्ज हुने भएका छन् । 

चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी आमा छोरामा बैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

बेलायतबाट नेपाल आएर काठमाण्डौ समेत डूली माइक्रोबाट चितवन पुगेका उनीहरुमा आरडिटी परीक्षणको क्रममा पोजिटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि पीसीआर परीक्षणमा समेत दुवैको रिपोर्ट पोजिटिभ आएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार २७ वर्षीय छोराको बिहीबार र शुक्रबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आउनुलाई चिकित्सकहरुले कोरोना संक्रमित बिरामी निको भएको रुपमा बुझ्द्छन । यही बुझाईका कारण छोरालाई शनिवार नै डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ । 

छोराको स्वाब परीक्षण रिपोर्ट लगातार नेगेटिभ आए पनि आमाको पछिल्लो रिपोर्ट चाहि पोजिटिभ नै आएको अस्पतालले जानकारी दिएको छ । 

छोरा आज डिस्चार्ज भए पनि नेपालमा कोरोनालाई जिते डिस्चार्ज हुने बिरामीको संख्या १२ पुग्नेछ । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ रहेको छ । जसमध्ये १२ जना निको भइसकेका छन् भने ३७ जना विभिन्न क्षेत्रका अस्पतालमा उपचाररत छन् ।