मानव शरीरको अस्थिरपञ्जरलाई अस्थिर बनाई दुखाइबाट हुने रोग बाथ हो । यो शरीरभित्रै उत्पत्ति हुन्छ । जोर्नी दुख्ने या मांसपेशीका कारण हुने बाथले छाला, आँखा, मुटु, मिर्गौलालाई पनि असर गर्छ ।

बाथ धेरै प्रकारका हुन्छन् । बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यो बच्चा, युवा र वृद्धवृद्धा सबैलाई हुनसक्ने नसर्ने रोग हो । नेपालको सन्दर्भमा बाथका दर्जनौँ प्रकारमध्ये युरिक एसिडबाट हुने बाथ, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने, मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छन् । बालबालिकामा पनि अत्यधिक मात्रामा बाथ रोगको समस्या देखिएको छ ।

बाथ रोग लागेपछि दुखाइ सुरु हुन्छ । हाडजार्नी दुख्ने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न गाह्रो हुने, हात मुठ्ठी पार्न समस्या हुने, घुँडा, कुहिनोका जोड दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने र दुख्ने गर्छ । त्यसैगरी छातीका करङ दुख्ने र पिसाब पोल्ने पनि हुन सक्छ । बाथ भएमा गर्भवतीको गर्भ खेर जान सक्छ । यी जुनसुकै बाथका साझा लक्षण हुन् ।

यस्ता समस्या देखिएपछि बाथ रोगको डाक्टरलाई देखाउनुपर्छ । रगत र अन्य विशेष जाँच गरेपछि मात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने स्पष्ट हुन्छ । बाथ रोग पूर्ण रुपमा निको हुँदैन तर यसबाट अन्य समस्या नहोस् भन्नका लागि रोकथाम मात्र गर्न सकिन्छ ।
युरिक एसिडबाट सुरु हुने बाथ बढी मात्रामा लोग्ने मानिसमा देखिने गर्छ । यसको प्रथम लक्षण खुट्टाको बुढी औँला दुख्ने, सुन्निने, हिँड्दा समस्या हुने, बुढी औँलाबाट सुरु भई गोलीगाँठो, कुहिनो बिशेष गरी ठूलो जोडमा दुख्छ । सर्सरिएर हिँडेजस्तो लाग्छ । माइगे्रटिङ पेन हुन्छ । यो ४० वर्ष आसपासमा बढी हुने गर्छ ।

सही ठाउँमा उपचार नगरी नदुख्ने औषधि मात्र खाँदा यो रोग पुरानो भएर झन् ठूलो समस्या हुन्छ । त्यस कारण बाथ रोग विशेषज्ञकहाँ गएर सल्लाह लिनु उत्तम हुन्छ ।

-Swasthyakhabar