काठमाण्डौ ।  तपाइँलाई सुन्दा अचम्म लाग्ला,  १० रुपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी हुन्छ भन्दा । तर काठमाडौँको सामाखुशीमा रहेको सुखावती स्टोरले १० रूपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छवर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । काठमाडौँ ठमेलमा त्यसको विस्तार गरे ।

तर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँच वर्ष बिताए । साढे दुई वर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् ।

चीजमानले कोरिया पुगेर ब्युटिफुल स्टोरमा सिकेको त्यो सीप एवम् अनुभवलाई सामाखुशीको टाउन प्लानिङमा अहिले प्रयोगमा ल्याइएको छ सुखावती स्टोर खोलेर ।

‘घर र अफिसमा कुनै सामान किफायती र धेरै समय मर्मत गरी पनि उपयोग गर्नुपर्छ, कुनै सामान आफूलाई पुग्यो भन्ने लागेपछि अरुका लागि मर्मत, सुधार वा प्रशोधन गरेर प्रयोग गर्न दान दिन सकिन्छ,’ सुखवती स्टोरका अध्यक्ष चीजमान भन्छन् ।

सुखावतीको सार ‘एकको वेकार अरुको साकार ।’ तपार्इँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ । मायाँ बाडाैं, खुसी बढाऔँ । यही सोचअनुरुप भान्साका सामान, लत्ताकपडा, जुत्ता, गमला, विद्युतीय सामग्री, सिडी, किताब र बच्चाको खेलौनासहितका सामग्री संस्थाले दान लिन्छ ।

‘कपडा आफैँ धुन्छौँ, सिउँछौँ र आइरन लगाएर चिटिक्क पार्छौं, अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाउँछौँ र नचिताएको सस्तो मूल्यमा बेच्छौँ,’ उक्त स्टोरमा स्वयम्सेवा गरिरहेकी लक्ष्मीदेवी गुरुङले भनिन्।

पति सिङ्गापुरको लाहुरे हुँदा उतै दुई दशक बसेकी गुरुङ जस्तै कमला गुरुङ, केशकुमारी राना, रञ्जना तामाङ, कल्पना गुरुङ, सङ्गु सुब्बासहितका महिला तथा अन्य गरी १३ जनाले त्यस स्टोरमा स्वयम्सेवा गरिरहेका छन् ।

सुखावती फाउन्डेसनबाट काम अघि बढाइएको यो अहिले सुखावती स्टोरका नामले अघि बढेको छ । सुरुमा यति धेरै दान आउला भन्ने सोचिएन । अहिले धेरै कपडा आउन थालेपछि मानिसले नभ्याउने भएकाले लुगाधुने मेसिनको आवश्यकता महसुस भएको स्टोरकी सचिव कमला गुरुङ बताउँछिन् ।

धोएर सिलाइएका टिसर्ट, बेल्ट, जुत्ताको मूल्य मात्र १० राखिएको छ । त्योभन्दा अलि राम्रा जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा २०, ४०, ८०, १०० र २५० रुपैयाँ मूल्य राखिएको छ ।

‘यति सस्तो मूल्यमा पनि कपडा र सामान पाइन्छ भनेर एकथरि विश्वास गर्दैनन्, अर्कोथरि हामीलाई जिस्काएको भनेर भन्छन्, किनकी रु १०/२० मा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ ? भनेर जिस्काउँछन्,’ कोषाध्यक्ष केशकुमारी राना अनुभव सुनाउँछिन् ।


सामाखुशी टाउन प्लानिङको बिक्रीकक्षमा पुनःप्रयोगका सामान कसरी नयाँ बनाउने, मूल्य निर्धारण गर्ने र कपडा किन सस्तो पर्यो भनेर सोध्न आउनेको भीड बढ्दै गएको स्टोरकी सदस्य रञ्जना तामाङ बताउँछिन् ।

कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री हुन्छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताए।

‘सामान किफायती ढङ्गले प्रयोग गर्ने र प्रयोग गरेपछि पुनःप्रयोगमा ल्याउने काम भोलि ठूलो मात्रामा हुन सक्यो भने देशकै स्रोतसाधनको समेत बचत हुन्छ, अरु देशको भर पर्नुपर्दैन,’ सदस्य कल्पना गुरुङ भन्छिन् ।

डेढ वर्षमा दुई हजार सामान सङ्कलन गरी पुनःप्रयोग योग्यको प्रशोधन गरी विक्री गरिएको छ । राजधानीका मेला महोत्सवमा १९ पटक स्टल राख्दा एक लाख २० हजार आर्जन भयो । असार यता  दुईलाख बढीको बिक्री भएको छ । मेलामा किशोरकिशोरी बढी झुम्मिए पनि मध्यम र कम आयकालाई यसले मद्दत पुग्ने सदस्य राजेन्द्र लामाको भनाइ छ ।


विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण गर्यो । कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई रु ८० लाख बराबरको आठ हजार सिरक वितरण गर्यो ।

ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा संस्थाले नुवाकोट हिलेखर्कमा  २७ लाखमा गारबेँसी निमाविको भवन पनि बनाएको छ । काभ्रेको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय तथा सिन्धुपाल्चोकको बतासेमा दुईकोठे नयाँ विद्यालय भवन तथा तीनकोठे विद्यालय भवन मर्मत गरिने पनि सो संस्थाले जनाएको छ ।