काठमाण्डौ । लाखौँ चिनियाँ नागरिकलाई आपतकालीन योजनाअन्तर्गत दुईवटा प्रयोगयात्मक कोरोनाविरुद्धको भ्याक्सिनको व्यापक प्रयोग गरिएको छ।

चाइना नेसनल बायोटेक ग्रुपसँगै कमिसन फर डिसिपिलिन इन्स्पेक्सनका सचिव झोउ सोङले कम्पनीका दुईवटा भ्याक्सिन आपतकालीन योजनाअन्तर्गत मात्र प्रयोग गरिएको बताएका हुन्। चाइना नेसनल रेडियोलाई सोमबार अन्तर्वार्ता दिँदै झोउले यी भ्याक्सिनले मानिसहरुलाई कोरोना संक्रमणबाट तीन वर्षसम्म बचाउन सक्ने दाबी पनि गरे। ‘लाखौँ मानिसलाई कोरोना विरुद्धको भ्याक्सिन दिइएको छ तर कसैलाई पनि यसको नकारात्मक प्रभाव देखिएको छैन’, उनले भने।

चाइना नेशनल बायोटेक गुप्र (सीएनबीजी) का दुइवटा भ्याक्सिनहरु अहिले संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना, जोर्डनलगायतका देशहरुमा तेस्रो चरणको परीक्षण भइरहेका छन्।

चीनको आपतकालीन खोप योजना जुलाईको अन्त्यमा सुरु भएको थियो। यसले उच्च जोखिमका समूह जस्तै स्वास्थ्य सेवामा संलग्न कामदार, कूटनीतिज्ञ र विदेशमा काम गर्नेहरुलाई भ्याक्सिन प्रदान गर्ने अनुमति प्रदान गरेको थियो। यी भ्याक्सिनहरुलाई चीनको नियामक निकायबाट प्रयोगका लागि भने अनुमति दिइएको छैन।

विश्वभर अहिले आठवटा भ्याक्सिनहरु तेस्रो चरणको परीक्षणबाट गुज्रिरहेका छन्। यसमा चारवटा भ्याक्सिनहरु चिनियाँ कम्पनीद्वारा निर्मित छन्।

सीएनबीजीद्वारा निर्मित दुईवटा र सिनोभेकद्वारा निर्मित एउटा भ्याक्सिनलाई आपतकालीन सार्वजनिक प्रयोगका लागि अनुमति प्रदान गरिएको छ। यसका साथै चौथो भ्याक्सिनलाई मिलिटेरी प्रयोगका लागि हरियो झन्डा देखाइएको छ।

सिनोभेकको भ्याक्सिन यतिबेला ब्राजिल र इन्डोनेसियामा परीक्षण भइरहेको छ र यसलाई अन्य देशमा पनि विस्तार गरिने अपेक्षा गरिएको छ। कम्पनीले आपतकालीन योजनाअन्तर्गत लाखौँ चिनियाँ नागरिकलाई यो भ्याक्सिन प्रदान गरिसकिएको जनाएको छ।

यस्तैमा चाइनाको सैनिक बललाई क्यानसिनो र एकेडेमी अफ मेडिकल साइन्सेसद्वारा विकास गरिएको सम्भावित भ्याक्सिन सीमित मात्रामा प्रयोग गर्न हरियो झन्डा देखाइएको छ। – एजेन्सी