काठमाण्डौ । चीनको राष्ट्रिय फार्म ग्रुप सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनले आमप्रयोगको अनुमति पाएको छ।

चीनको नेसनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको भ्याक्सिनलाई अनुमति दिएको हो। सिनोफार्मले आफ्नो भ्याक्सिन कोरोनाविरुद्ध ७९.३४ प्रतिशत प्रभावकारी भएको जनाएको छ। यो खोप पनि दुई डोज लगाउनुपर्ने सिनोफार्मको भनाइ छ।

यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरु, अर्जेन्टिनालगायत देशमा गरिएको थियो। गत डिसेम्बर ९ मा यूएईका स्वास्थ्य अधिकारीहरूले चिनियाँ भ्याक्सिन ८६ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए। यूएई र बहराइनले चिनियाँ भ्याक्सिनलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।

चीनले पनि गत जुलाईदेखि नै यो भ्याक्सिनको आपतकालीन प्रयोग गरिरहेको छ। जसअनुसार हालसम्म १५ लाख बढीलाई यो भ्याक्सिन लगाइसकिएको चिनियाँ अधिकारीहरुले बताएका छन्। 

यो भ्याक्सिन चिनियाँ जनताले निःशुल्क रुपमा लगाउन पाउने पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगका नायब निर्देशकले बताएका छन्। ‘यो भ्याक्सिनको मूल्य उत्पादनको हिसाबले निर्धारण हुनेछ, जति उत्पादन बढी त्यति नै मूल्य कम हुँदै जानेछ’, उनले भने, ‘तर हाम्रा जनतालाई यो भ्याक्सिन पूर्ण रुपमा निःशुल्क लगाइनेछ।’

यसअघि अमेरिका र बेलायतमा बनेका भ्याक्सिनहरूले आमप्रयोगको अनुमति पाइसकेका छन्। रूसले स्पुतनिक भी भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ।