–अर्जुन तिमिल्सिना/अनन्त्य सुन्दर

काठमाण्डौ । विगत केही दिनदेखिको नेप्से परिसूचक हेर्दा बजार रुमल्लिएको देखिन्थ्यो। बजार न त बढ्न सकेको थियो न त घट्न नै। बजारले गुड न्युज पर्खिएको र उक्त न्युजपश्चात नेप्से परिसूचकले नयाँ हाई बनाउने पक्का भएको बजारका सक्रिय लगानीकर्ता तथा लगानीकर्ता संघसंगठनका अगुवाहरु बताउँदै आएका थिए। उक्त गुड न्युज ‘चुनावको मिति’ थियो।

बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निकायको चुनाव एकै चरणमा वैशाख ३० मा हुने निर्णय गर्यो। उक्त गुड न्युज आएसँगै बजार बढ्ने लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकरको अपेक्षा थियो। तर, उक्त ‘गुड न्युज’ बजारका लागि त्यति गुड बन्न सकेन।

आज कारोबार भएको ५ मिनेटमै नेप्से परिसूचक २९०० माथि थियो। चुनावको मिति घोषणा भएसँगै आज बजार बन्द हुँदा ६०–७० अंकले बढ्ने धेरै लगानीकर्ताको अपेक्षा थियो। तर, सुरुआतमा झन्डै ७० अंकले बढेको बजार धेरै बेर टिक्न भने सकेन। कारोबार समयावधिभर बजार तल–माथि भइरह्यो। बजार बन्द हुँदा नेप्से परिसूचकमा १६.३० अंकको गिरावट आयो। अर्थात् आज बजार २८३५.५८ बिन्दुमा बन्द भएको छ।

चुनावको मिति घोषणा भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? भनेर प्रश्न गर्दा एक ब्रोकर सञ्चालकले भने, ‘चुनावको मिति तय भएपछि बजार बढ्छ भन्ने अधिकांश लगानीकर्ताको आशा थियो। त्यसैले चुनावको मिति छिट्टै नै आउने हल्लासँगै विगत केही दिनदेखि बजारमा लगानीकर्ताले आफ्नो क्षमताभन्दा बढी सेयर खरिद गरेको देखिन्छ।’

आफूसँग १० लाख पुँजी भएका लगानीकर्ताले ब्रोकरले लिमिट दियो भनेर ४० लाख रुपैयाँसम्मको सेयर खरिद गरेको देखिन्छ। चुनावको हल्लाले बजार बढ्छ अनि खरिद गरेको सेयर बेचेर सेटलमेन्ट गर्ने धेरैको योजना थियो। ‘अर्थात् अधिकांश लगानीकर्ताले ब्रोकरको पैसामा सेयर खरिद गरे र आज बेचेर सेटलमेन्ट गरे’, ती ब्रोकर सञ्चालकले भने।

‘अहिले तरलताको चाप उच्च छ। बैंक तथा वित्तीय संस्थाहरु लोन दिने अवस्थामा छैनन्’, ती ब्रोकर सञ्चालकले भने, ‘अधिकांश लगानीकर्तालाई आज ब्रोकरकोमा सेटलमेन्ट गर्नुपर्ने बाध्यता आयो। आफ्नो क्षमताभन्दा बढी सेयर खरिद गरेका लगानीकर्तालाई सेटलमेन्ट गर्ने एकमात्र औजार खरिद गरिएको सेयरको बिक्री गर्नुपर्ने भयो। त्यसैले गर्दा आज बजारमा करेक्सन आयो।’

‘बजारमा आज करेक्सन आयो। बजार अब घट्छ नै भन्ने होइन’, ती सञ्चालकले भने, ‘चुनावसँगै तरलता सहज हुने साथै बजारमा संलग्न सबैजना बजारप्रति सकारात्मक भएकाले बजार भने बढ्ने नै देखिएको छ।’ 

बजार घट्नुको अर्को कारणका रुपमा एचआईडीसीएलको संस्थापक सेयर रहेको छ। यो कम्पनीले ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी खुलाउँदैछ। सोही सेयर खरिद गर्न बजारबाट झन्डै १२ अर्ब रुपैयाँ बाहिरिएको ब्रोकरहरु बताउँछन्। 

ब्रोकर स्रोतका अनुसार अर्को कारण भनेको सेयरको पैसा जग्गामा लगानी हुनु पनि हो। ‘चुनावीकै लागि एक राजनीतिक दलका नेताले १ अर्ब रुपैयाँबराबरको जग्गा बेचेका छन्’, स्रोतले भन्यो, ‘त्यो जग्गा सेयर बजारका ठूला लगानीकर्ताहरुले नै उठाएको सुन्नमा आएको छ।’

एक ब्रोकर सञ्चालकले ब्याजदर बढ्न सक्ने भन्दै ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्था बस्दा पनि आज बजारमा सोचेजस्तो माग सिर्जना हुन नसकेको बताए।