– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा मंसिर ४ गते दुवै चुनाव गर्ने निर्णय गरेको हो। 

सामान्यतय चुनावको घोषणालाई पुँजीबजारमा सकारात्मक रुपमा लिने गरिन्छ। तर, आज नेपाल सरकारले प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव मिति घोषणा गर्दैगर्दा सेयर बजारमा भने ३८ अंकले गिरावट आएको छ। 

योसँगै सेयर बजारमा सकारात्मक समचार आउँदा पनि किन बजार घट्यो ? चुनाव घोषणाले पुँजी बजारमा कस्तो प्रभाव पार्ला  ? यसै विषयमा आज हामीले विभिन्न लगानीकर्ताका नेता तथा लगानीकर्तासँग जिज्ञासा राखेका छौँ। 

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल चुनाव घोषणाले मनोवैज्ञानिक रुपमा सकारात्मक असर पार्ने बताउँछन्। ‘अहिले चुनावको शैली परिवर्तन आएको छ’, उनले भने, ‘ब्यानर र झन्डाभन्दा पनि कार्यकर्तालाई खाजामा बढी खर्च हुन थालेको छ।’

औँलामा लगाउने मसीसमेत विदेशबाट आउने भएकोले पैसा भने विदेश नै जाने अर्यालको तर्क छ। तर, पनि अर्थतन्त्र भने चलयमान नै हुने अर्यालको बुझाइ छ। 

चुनावको घोषणाले पुँजीबजारलाई मात्रै नभएर सबै क्षेत्रमा चलयमान हुन सक्ने अर्याल बताउँछन्। ‘केही अनौपचारिक क्ष्ोत्रमा भएको पैसा भने बैंकिङ क्षेत्रमा आउन सक्छ’, अर्यालले भने। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विगतमा चुनावी वर्षमा राम्रै भएको बताउँछिन्। ‘वैशाख ३१ मा सम्पन्न स्थानीय चुनावमा सोचेजस्तो पैसा भने आएन’, उनी भन्छिन्, ‘सायद पोलिसी नेगेटिभ भएका कारण पनि यस्तो भएको हुन सक्छ।’

नेपालको अर्थतन्त्रमा धेरै अनौपचारिक क्षेत्र मौलाएको उल्लेख गर्दै पोखरेलले भनिन्, ‘रु. ५०० र रु. १ हजार दरका नोट बन्द गर्नुपर्छ।’
नियामकले भनेजस्तो पुँजीबजार जोखिम नभएको पनि पोखरेलको दाबी छ। 

सक्रिय लगानीकर्ता एसपी चौलागाईंले चुनावको मिति घोषणा हुँदैगर्दा बजार घट्नुमा कुनै सम्बन्ध नरहेको बताउँछन्। ‘चुनावको मंसिर ४ हुने समाचार पहिले नै आइसकेको थियो’, उनले भने, ‘त्यसैले आज बजार घट्नुमा यसको सम्बन्ध छैन।’

चुनावको मिति घोषणाले बजार सकारात्मक प्रभाव पर्ने चौलागाईंको भनाइ छ।