काठमाण्डौ । नेकपा (एमाले) निर्वाचनको मौन अवधि समय घटाउनु सुझाव दिएको छ। 

निर्वाचन आयोगले पेस प्रस्ताव गरेको निर्वाचन आचारसंहित २०७९ मा बुँदागत सुझाव पठाउँदै एमालेले मौन अवधिको समय घटाउन माग गरेको हो। एमालेले निर्वाचनको मौन अवधि ४८ घन्टा घटाई २४ घन्टा बनाउनुपर्ने सुझाव दिएको छ। 

निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागूू गर्न सकिने बनाउनुपर्ने पनि एमालेको सुझाव छ। निर्वाचन आचारसंहिता लागूू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने एमालेले सुझाएको छ। 

एमालेले उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइनेलगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने आयोगलाई सुझाव दिएको छ। ‘गलत मनसायले नियतवश बालबालिकाको निर्वाचनमा प्रयोगलाई निषेध गर्नुपर्छ’, एमालेले भनेको छ। 

निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने, जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, अनुुमति भन्ने हटाउनुपर्ने तथा आचारसंहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को–को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्न पनि एमालेले सुझाव दिएको छ। 

त्यस्तै सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारको बढी र कुनै राजनीतिक दल वा उम्मेदवारको कम स्थान दिई कार्यक्रम, समाचार, विचार प्रवाह नगरी समानुपातिक र सन्तुलित गर्नुपर्ने, जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सुूक्ष्म अनुुगमन गर्न विशेष इकाई गठन गर्नुपर्ने एमालेले आयोगलाई सुझाव पठाएको छ। 

एमालेले अनुसूची–३ को दफा ८ को मत सदर बदर भए उपरको पुनरावेदकीय अधिकारबाट बञ्चित हुने प्रावधान हटाउनुपर्ने र निर्वाचन आचारसंहिता पालना नगरेकोविरुद्ध दिइने उजुरीको ढाँचालाई अनिवार्य नगर्ने पनि सुझाव दिएको छ।