– अनन्त्य सुन्दर
काठमाण्डौ । निर्वाचन आयोगले सार्वजनिक गरेको मनोनयन दर्ताको सार्वजनिक विवरणअनुसार वैशाख ३० मा हुने भनिएको स्थानीय तहको चुनावमा देशभरबाट १ लाख ४४ हजार बढीले उम्मेदवारका लागि मनोनयन दिएका छन्। स्थानीय तहको कुल ३५ हजार २२१ पदको चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको हो।
नेपालको सेयर बजारमा अहिले विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारीमात्र नभएर राजनीतिज्ञहरुले पनि लगानी गर्ने गरेका छन्। सेयर बजारमा डिम्याट खातामात्र खोल्नेहरुको संख्या ५१ लाख पुगेको छ। त्यस्तै दोस्रो बजारमा लगानी गर्नेहरुको संख्या पनि बढ्दो छ।
चुनाव नजिकिएसँगै पुँजीबजारमा लगानी गरेका राजनीतिज्ञहरुले चुनावी खर्च जोहो गर्न सेयर बेच्न सुरु गरेका एक ब्रोकर सञ्चालकले बताए। ‘सेयर बजार अहिले सीमित पेसाका सीमित व्यक्तिहरुका हातमा मात्र छैन। अहिले बजारमा विविध पेसाहरुमा आबद्ध व्यक्तिहरुले लगानी सुरु गरेका छन्’, ती ब्रोकर सञ्चालकले भने, ‘नेपालमा सबैभन्दा बढी नागरिक राजनीति पेसामा छन्। त्यसैले अहिले राजनीतिज्ञहरुले चुनावी खर्चका लागि भन्दै सस्तोमा भए पनि सेयर बेच्न सुरु गरेका छन्।’
पछिल्लो समय चुनावी तयारी गरिरहेका उम्मेदवारहरुले चुनावका लागि पैसा जोह सुरु गर्दा औपचारिक क्षेत्रबाट पैसा एकाएक हराएर बजारमा तरलता चाप भएको ती ब्रोकर सञ्चालकको भनाइ छ। ‘नेपाली सेयर बजारलाई तरलताले प्रत्यक्ष असर गर्ने भएकाले बजार पनि केही महिनादेखि सुस्ताएको छ’, ती ब्रोकर सञ्चालकले भने।
‘तरलता चापले गर्दा अहिले बैंकमा क्रेडिट क्रन्च छ’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘बजारमा पैसा नहुँदा चुनावमा उठेका उम्मेदवारहरु घाटामा भए पनि सेयर बेच्न बाध्य भएको बुझिन्छ।’
नेपालमा राजनीतिमा आफू नै प्रत्यक्ष आबद्ध नभए पनि आफन्तमा मामा, माइजू, काका, काकीलगायत कोही न कोही सक्रिय राजनीतिमा आबद्ध रहेको ती ब्रोकर सञ्चालकले बताए। त्यसैले चुनावी माहौल सुरु भएसँगै राजनीतिमा आबद्ध व्यक्तिहरुले अहिले सेयर किन्नेभन्दा पनि बेच्न सुरु गरेको ती सञ्चालकको भनाइ छ।
हिजो मनोनयन प्रक्रिया सकिएसँगै चुनावले माहौल तातेको छ। देशको हरेक कुनाकाप्चामा चुनावको नै चर्चा सुनिन्छ। ‘अहिले उम्मेदवारबीच कसले कति खर्च गर्ने भन्ने प्रतिस्पर्धा चलेको छ’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘व्यापारी, उद्योगीलगायतको व्यापारव्यवसाय ठप्प छ। त्यसैले पनि सेयरमा आबद्ध राजनीतिज्ञले चुनावी खर्चका लागि आफ्नो पोर्टफोलियो खाली गर्न सुरु गरिसकेका छन्।’
अहिले चुनाव लड्न त्यति सजिलो नरहेको ती ब्रोकर सञ्चालकले बताए। ‘वडाअध्यक्षका लागि लाखौँ र मेयरका लागि करोडौँको पुँजी आवश्यक पर्छ’, ती ब्रोकर सञ्चालकले भने, ‘त्यसैले चुनावी खर्चको नाममा पेट्रोल, मदिरा, पम्पलेटलगायतका खर्च धान्नका लागि पनि सस्तोमा भए पनि आफूसँग भएको सेयर बेच्न उम्मेदवारहरु बाध्य भएको अवस्था छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19