काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै काम र सम्झौता नहुने बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशयसमेत नरहेको स्पष्ट पारे। 

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले चुरे क्षेत्रमा कुनै पनि दोहन हुन नदिने बताए। उनले चुरे क्षेत्रसँग सम्बन्धित नभएको विषयलाई चुरेसँग जोडेर राजनीति नगर्न आग्रह गरे। 

पौडेलले खानी विभागले पहिचान गरेका स्थानबाट मात्र वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य सामग्री उत्खनन हुने बताए। चुरेको प्रश्नमा तथ्यलाई छोडेर तर्कमा प्रवेश नगर्न आग्रह गर्दै उनले वातावरण र प्राकृतिक सम्पदाको संरक्षणमा प्रतिकूल हुने स्थानमा नभई वैज्ञानिक हिसाबले उपयुक्त स्थान मात्र उत्खनन् हुने जानकारी दिए। 

मन्त्री पौडेलले प्राकृतिक सम्पदाको संरक्षणमा कसैसँग पनि लेनदेन हुन नसक्ने भन्दै प्राकितक स्रोत दोहन गर्नेलाई कडाइका साथ कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

पौडेलले खानीजन्य सामग्रीको निकासीबारे केहीले छिमेकी मुलुकसँग जोडेर हेर्न खोजेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरे। पूर्वदेखि पश्चिम क्षेत्रमा रहेका चुरेको संरक्षण गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले हिमाल र महाभारत क्षेत्रको संरक्षणमा पनि उत्तिकै ध्यान दिने बताए। 

मन्त्री पौडेलले सिद्धबाबा क्षेत्रको डाँडो काट्ने, खन्ने र उत्खनन गर्न नदिने व्यक्ति आफै रहेको उल्लेख गर्दै सिद्धबाबामा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढेको र सोका लागि बजेट विनयोजन भएर टेन्डर प्रक्रियामा रहेकोसमेत जानकारी दिए। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले तराईलाई मरुभूमिकरण हुन नदिन सरकारले प्रत्येक वर्ष चुरे संरक्षणका लागि डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको भन्दै वैज्ञानिक रुपमा खानीजन्य सामग्रीको उत्खनन गर्नुपर्ने बताए। 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका अध्यक्ष डा. किरण पौड्यालले खानी उत्खनन् भन्दैमा पूर्व पश्चिमको चुरे नपर्ने स्पष्ट पार्दै चुरे क्षेत्रमा खानी उत्खननको प्रस्ताव आए रोक्ने बताए। 

अर्थसचिव शिशिरकुमार ढुंगानाले भौगोलिक र वैज्ञानिक हिसाबले खानी निकाल्न सकिने ठाउँमा मात्र उत्खनन गर्न सकिने भन्दै पहिला देशभित्रको आवश्यकतालाई पूरा गर्ने र त्यसपछि निर्यात पनि गर्न सकिने धारणा व्यक्त गरे। 

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले चुरेमा खानी पर्दैन भन्दै विकास र संरक्षणको माध्य मार्गबाट अघि बढ्न जरुरी रहेको बताए। 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले चुरे क्षेत्रमा नपर्ने गरी खानीहरुको पहिचान गरिएको बताए। उनले खानी भएका ठाउँमा पनि वन तथा वातावरणीय न्यून प्रभाव हुने गरीमात्र काम हुने जानकारी दिए। 

कार्यक्रममा डा. तीर्थबहादुर श्रेष्ठले महाभारतमा खानी निकाल्दा पनि त्यसको प्रत्यक्ष असर चुरेमा पर्ने बताए। डा. विनोद भट्टले सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक पाटोमा अनुभव नभएकाले पाइलटिङ गरेर मात्र कार्यक्रम अघि बढाउन आवश्यक भएको धारणा व्यक्त राखे। डा. विजयसिंह दनुवारले चुरे वरदार र अभिसाप दुवै भएको भन्दै खानीबाट पनि चुरे प्रभावित हुने बताए। 

पूर्वअर्थसचिव रामेश्वर खनालले पहिला देशभित्र ढुंगा, गिट्टी, बालुवाको आवश्यकता पूर्ति गर्नुपर्ने बताए। 

भूगर्भविद मेघराज घितालले वैज्ञानिक रुपमा खानी उत्खनन गर्दा समस्या नहुने भन्दै जथाभावी रुपमा निकाल्दामात्र समस्या हुने बताउनुभयो । पत्रकार चन्द्र किशोरले सरकार अभिभावक भएकाले सिमित व्यक्तिलाई फाइदा हुन सक्ने विषयमा सचेत हुनुपर्ने भन्दै महाभारत क्षेत्रमा खानी उत्खनन् गर्दा पनि चुरेलाई असर पर्ने बताए। 

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्माले विकास र संरक्षण दुई पाटा रहेको भन्दै चुरे संरक्षण गर्न नसके तराईँ मरुभूमिकरण हुने सक्ने बताएका थिए।