काठमाण्डौ । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माले अख्तियारलाई चुनौति दिंदै उसले संसद र सरकारकै अपमान गरेको आरोप लगाएका छन् । 

आइतबार म्याद थपका लागि विशेष अदालत पुर्याइएका उनले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार नै विधिसम्मत काम गरेको दाबी गर्दै आफूूमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारकै अपमान रहेको बताए । 

सादा पोशाकका सुरक्षाकर्मीको उच्च सुरक्षामा अदालत पुर्याइएका उनको अनुहार मलीन थियो । पत्रकारहरुलाई उनले अरु पनि केही बताउन खोजे पनि आयोगका सुरक्षाकर्मीहरुले उनलाई बोल्न रोकेका थिए । 

शर्मालाई शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग परिसरबाटै कर फछ्र्यौट आयोगमार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।