काठमाण्डौ । कर फछ्र्यौट आयोगमार्फत अबैधानिक रुपमा २० अर्ब भन्दा बढी कर मिनाहा दिइएको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमुक्त हुन ३ अर्ब धरौटि जम्मा गर्नुपर्ने शर्त तेस्र्याएको छ ।  

गत जेठ १९ गते पक्राउ परी अख्तियारको हिरासतमा रहेका शर्मालाई अख्तियारले आयोगमार्फत चरम अबैधानिक काम गरेको भन्दै ३ अर्ब धरौटि मागेको हो । 

अख्तियार स्रोतका अनुसार महानिर्देशक शर्मा संलग्न आयोगले कर छुट दिएका १ सय २५ फाइलको मिहीन अध्ययन गर्दा ९ अर्ब बढी कर अबैधानिक रुपमा छुट दिइएको फेला परेको छ । अझै करिब ९ सय ५० फाइल अख्तियारले अध्ययन गरिसकेको छैन ।  

तीन सदस्यीय आयोगमा शर्मा सदस्य सचिव थिए । आयोगका संयोजक र सदस्य फरार छन् । अख्तियारले अबैधानिक रुपमा छुट दिइएको ९ अर्ब रुपैयाँ आयोगका शर्मासहित तीनैजनालाई दामाशाही हिसाबले भाग लगाउँदा ३ अर्ब रुपैयाँ प्रत्येकले अपचलन गरेको देखिएको र हिरासतमुक्त हुनका लागि शर्माले ३ अर्ब धरौटि बुुझाउनुपर्ने तोकेको हो । 

मागिएको ३ अर्ब धरौटि जम्मा गरे शर्मा तारेखमा रिहा हुने अख्तियारका एक अधिकारीले बताए ।