काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मासहित कर फछ्र्यौट आयोगका अन्य दुुई अधिकारीविरुद्ध १० अर्ब ९६ करोड भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गर्ने भएको छ । 

आयोगले शर्मासहित कर फ्छर्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध मुद्धा दायर गर्न लागेको हो । 

मुद्धा दर्ताका लागि अख्तियारको टोली शर्मालाई लिएर बिहीबार नै विशेष अदालत पुुगे पनि समय अभावका कारण दर्ता हुन नपाएको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले शर्मा पत्नी कल्पनाले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार अदालतमा उपस्थित गराउन आदेश दिएकोले अख्तियारले हतार हतार बिहीबार नै मुद्धा दर्ता गराउन खोजेको थियो । समय अभावका कारण देखाउँदै बिहीबार दर्ता हुन नसकेको मुद्धा शुक्रबार दायर हुने बताइएको छ । फछ्र्यौट आयोगका पदाधिकारीवरुद्ध मुद्धा दायर गर्न अख्तियारले ३ सय पृष्ठको फाइल तयार गरेको छ । मिसिल मात्र ८० पृष्ठको रहेको र त्यसलाई अध्ययन गर्न समय लाग्ने भएकोले आज मुद्धा दर्ता हुन नसकेको श्रेष्ठले जानकारी दिए । 

उता, अख्तियारले सर्वोच्चको आदेश अनुसार शर्मालाई शुक्रबार १० बजे अदालतमा उपस्थित गराउनेछ । 

महानिर्देशक शर्मालाई कर फर्छ्यौट आयोगमार्फत भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो। उनी फर्छ्यौट आयोगका सदस्य सचिव थिए। आयोगका अध्यक्ष महत र सदस्य ढकाल भने फरार छन् । 

आयोगको आडमा शर्मा, महत र ढकालले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएका अख्तियारको आरोप छ  । जथाभावी कर छुटप्रति महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्यितारले चासो दिई अनुसन्धान थालेको थियो । 

यति ठूलो बिगो दाबीसहित भ्रष्टाचारको मुद्धा दर्ताको तयारी गरिएको संभवत यो नै नेपालको पहिलो घटना हो ।