काठमाण्डौ । करिब एकमहिनादेखि अख्तियारको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

यो आदेशसँगै शर्मा अब प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बिजशालालाई दिएको जानकारी अनुसार शर्माकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । मंगलबार न्यायधीशहरू दीपकराज जोशी, केदारप्रसाद चालिसे, अनिलकुमार सिन्हा, दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको पूर्ण इजलाशले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । 

सरकारले गठन गरेको कर फछ्र्यौट आयोगमा रहेर शर्माले मनपरी ढंगले विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई छुट दिएका र सो क्रममा उनले निकै ठूलो राजश्व हिनामिना गरेका आरोप अख्तियारले लगाउँदै आएको छ । उनी यही आरोपमा गत जेठ १९ गते कार्यालय परिसरबाटै पक्राउ परेका थिए ।