काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल र पाकिस्तानबीच आर्थिक सम्बन्ध विस्तारमा जोड दिएको छ।

चेम्बर भवन कान्तिमा बिहीबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भएको भेटवार्तामा यस्तो जोड दिइएको छ। छलफलमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराए। उनले नेपाली उद्योगीव्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे। 

नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न श्रेष्ठले राजदूत शाहलाई सुझाव दिए। चीनले नेपाललाई ८ हजार वस्तुहरूमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उनले जानकारी गराए। 

अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स—सेलर्स मिट’ गर्न प्रस्ताव गरे। 

राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे। उनले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रहरूबारे चासो राखेका थिए। 

चेम्बर पदाधिकारी र पाकिस्तानी राजदूतबीच दुई देशका बीचमा रहेका व्यापारिक कठिनाईका बारेमा पनि विवेचना भएको थियो।