काठमाण्डौ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारत भ्रमणमा गएको छ। 

निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा गएको हो। भ्रमण टोलीमा अध्यक्ष मल्लसँगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्र्मिला श्रेष्ठ छन्। 

प्रधानमन्त्री दाहालले जेठ १७ गते बुधबारदेखि २० गते शनिबारसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा भारतीय निजी क्षेत्रसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। 

यस्तै नेपाल भारतका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले समेत दुई पक्षीय व्यापार, लगानी, भन्सार सहजीकरणलगायतका विषयमा अन्तरक्रिया गर्दैछन्। भारतीय व्यवसायीहरुसँग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग–व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले बताए।