काठमाण्डौ। फरक परेको बिक्री रकमको १.५ प्रतिशत कर यही चैत मसान्तसम्म दाखिला गरेमा करदातालाई विशेष व्यवस्था गरिएको छ। 

आन्तरिक राजस्व कार्यालयले पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेस गर्ने कारदाताका लागि विशेष व्यवस्था गरेको हो। जसअनुसार आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४) तथा (४क ) बमोजिम आय विवरण र कर दाखिला गरेका करदाताले आर्थिक वर्ष २०७७–७८ सम्मको आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक परेको भएमा त्यस्ता करदाताले २०७९ साल चैत मसान्तभित्र प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको १.५% कर दाखिला गरेमा करदाताले घोषणा गरेको हदसम्मको कर अन्तिम हुने व्यवस्था विभागले गरेको छ। 

यसैगरी आयकर ऐन २०५८ को दफा ४ को उपदफा (४) तथा (४क) बमोजिम आय विवरण र कर दाखिला गरेका करदाताको आर्थिक वर्ष २०७७–७८ सम्मको वास्तविक कारोबार अंक फरक परेको आधारमा २०७९ साल जेठ १४ सम्म आयकरतर्फ संशोधित कर निर्धारण र मूल्य अभिवृद्धि करतर्फ कर निर्धारण भई बक्यौता रहेका करदाताले कर निर्धारण गर्दा कायम भएको थप बिक्री रकमको १.५% कर २०७९ साल चैत मसान्तसम्म दाखिला गरेमा बाँकी कर, थप दस्तुर जरिवाना र शुल्क मिनाहा हुनेछ।

त्यसैगरी यस्तो कर निर्धारणउपर चित्त नबुझाई कानुनबमोजिम प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा पुनरावेदन गरेका करदाताले मुद्दा फिर्ता लिई कर निर्धारण गर्दा कायम भएको थप बिक्री रकमको १.५% कर २०७९ साल चैत मसान्तसम्म दाखिला गरेमा बाँकी कर, थप दस्तुर जरिवाना र शुल्क मिनाहा हुने विभागले जनाएको छ।