काठमाण्डौ । अघिल्लो साताको बजारको प्रवृति यो साताको पहिलो कारोबार दिन पनि दोहोरिएको छ । बजारमा क्रेता र विक्रेताबीच कडा प्रतिस्पर्धा हुँदा नेप्से परिसूचक लगभग स्थिर अवस्थामा छ भने कारोबार(टर्नओभर)को दरिलो साथ पनि टुटिसकेको छैन । यसले आगामी दिनमा बजार धेरै नघट्ने र धेरै नबढ्ने समेत संकेत गर्ने विश्लेषकहरु बताउँछन् । आखिर बजार किन स्थिर भइरहेको होला ? बजार कहिलेदेखि बढ्ला वा घट्ला ? 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले टर्नओभरको दरिलो साथ र नेप्से परिसूचकमा आएको झिनो गिरावटले बजार स्थिर बनेको देखाएको प्रष्ट पारेका छन् । ‘अहिले बजारमा किन्ने र बिक्री गर्नेको निकै कडा प्रतिस्पर्धा छ ।’ उनले भने–‘बजार बढ्नुुभन्दा हप्तादिनअघि सेयर किनेका सर्ट टर्म कारोबारीहरुले केही फाइदा भएपछि सेयर बिक्रीको हतारो देखाएका छन् भने बजार अझै बढ्ने आशामा क्रेताहरुको पनि कमी छैन ।’ यही कारण बजार स्थिर बनेको उनको भनाई छ । 

उनको भनाईमा टर्नओभरले बजारलाई साथ नछाडेका कारण बजार तत्काल घटिहाल्ने अवस्था छैन । तर, चैत अन्तिम र बैशाख पहिलो सातासम्म चाहि बजारमा ठूलै वृद्धि होला भनेर आशा गरिने ठाउँ पनि छैन । पौड्यालको भनाईमा बैशाख पहिलो सातादेखि बैंक तथा बित्तीय संस्था र सूचिकृत कम्पनीको तेश्रो त्रैमासिक विवरण प्रकाशन हुन थाल्ने र यसले कुन कम्पनीले कतिसम्म लाभांश दिनसक्छ भन्ने अनुमान गर्न सकिने भएकोले बजार बढ्नसक्छ । ‘यस्तै, हाल स्थानीय निकायको निर्वाचनको बिषयमा लगानीकर्ता पूर्ण रुपमा ढुक्क हुने अवस्था छैन ।’ उनले भने–‘कहिलेकाही चुनाव रोकिने हो कि भन्ने संशयले पनि लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पारेको देखिन्छ ।’ 

उनका अनुसार तेश्रो त्रैमासको रिपोर्ट आउने क्रमसँगै चुनावको पूर्ण सुनिश्चितता हुने वातावरण बने मात्र पनि बजारले उकालो यात्रा समात्ने निश्चित छ । चुनावसँगै तरलता सहज हुने, तरलता सहज हुँदा डिपोजिटको र कर्जाको ब्याजदर घट्ने हुँदा यसले बजारमा सकारात्मक प्रभाव पार्ने र टर्नओभरको साथमा स्थिर बनिरहेको बजारले राम्रो गति लिनसक्ने पनि उनको अनुमान छ ।