काठमाण्डौ ।व्यावसायिक गतिविधिलाई प्रोत्साहन काठमाण्डौंको चोभारमा स्थापना गरिएको सुक्खा बन्दरगाह सरकारले सञ्चालन गर्न नसकेपछि अन्तत : निजी क्षेत्रले  सञ्चालन गर्ने भएको छ ।

अबदेखि ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीले पाँच वर्षसम्म सञ्चालन गर्ने छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको डेढ वर्षपछि चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको हो।

नेपाल इन्टर मोडल यातायात विकास समितिले बन्दरगाह सञ्चालनका निम्ति गत साउनमा टेन्डर आह्वान गरेको थियो। उक्त प्रस्तावमा ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबी र न्यू नेपाल ढुवानी सेवाले प्रस्ताव पेस गरेका थिए।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कम्पनीको नियमअनुसार बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको बताए । नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिने सम्बन्धी, २०७० मा पोर्टहरू कम्पनीमार्फत सञ्चालन तथा व्यवस्थापन गराउने र नियमन समितिले गर्ने उल्लेख छ।

उनले भने, ‘सञ्चालक समितिले विशेष निर्णय गरेर हालसम्म चलाएका हौं, अबदेखि निजी क्षेत्रले चलाउँछ ।’

उक्त कम्पनीले पाँच वर्षमा समितिलाई २ करोड ८८ लाख रूपैयाँ दिने कबोल गरेको छ। यसको अर्थ बन्दरगाहमा आम्दानी नभए पनि समितिलाई कम्पनीले कबोल गरे बराबरको रकम दिनुपर्छ। प्रक्षेपण गरेभन्दा बढी व्यापार भएमा कम्पनी र समितिबीच आम्दानी बाँडफाँट गर्ने शर्त रहेको छ ।

बन्दरगाहमा भन्सार टर्मिनलतर्फ पहिलो वर्ष ४ हजार २०५ वटा, दोस्रो वर्ष सात हजार ९५, तेस्रो वर्ष १४ हजार १३१, चौथो वर्ष २० हजार ६०३ र पाँचौं वर्ष ३३ हजार गाडी वा कन्टेनर भित्रिने प्रक्षेपण रहेको छ।यसैग्री, आन्तरिक टर्मिनलतर्फ पहिलो वर्ष ८ हजार १००, दोस्रो वर्ष १० हजार ८००, तेस्रो वर्ष १३ हजार ५००, चौथो वर्ष २७ हजार र पाँचौं वर्ष ३२ हजार ४०० गाडी वा कन्टेनर भित्रिने प्रक्षेपण  छ।

यो बाहेक मुलुकमा विभिन्न ६ वटा स्थानमा सुख्खा बन्दरगाह एवं एकीकृत जाँच चौकीहरू सञ्चालनमा छन्। ती पोर्टहरू सञ्चालन पनि निजी क्षेत्रले गरिरहेको छ ।

विश्व बैंकको १ अर्ब ५३ करोड रूपैयाँ ऋण सहयोगमा बनेको उक्त सुख्खा बन्दरगाह २०७८ साल चैतदेखि सञ्चालनमा छ। काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरण गर्न उक्त बन्दरगाह सञ्चालनमा ल्याइएको हो।

समितिका अनुसार हालसम्म बन्दरगाहमा ३८४ वटा कन्टेनर र ९५ वटा नयाँ कार आएका छन्।

२२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा ५०० ओटा ट्रक पार्किङ गर्न मिल्ने गरी यार्ड बनाइएको छ।बन्दरगाहमा तीन वटा ठूला गोदाम छन्।