काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारको शानदार बाउन्स ब्याक भएको छ । नेप्से परिसूचक ३७.११ अंकले बढेर १५३०.३१ अंकको उचाईमा फर्किएको हो । बजार घटेर १४०० को स्तरमा आएको मौकामा सेयर खरीद गर्नेहरुको संख्या ह्वात्तै बढेपछि बजार एकदिनमै यसरी बाउन्स ब्याक भएको हो । बिहीबार बजारमा खरीदकर्ताहरुको निकै ठूलो चाप देखियो, यहीकारण ३७.११ अंकले परिसूचक बढ्दा पनि कारोबार रकम चाहि ६३ करोडमै सीमित भयो । यसको अर्थ बजारमा यो दिन खरीदकर्ताको दबदबा चलेको बुुझ्न सकिन्छ । 

यो दिन ट्रेडिङ, बिमा, बित्त र बैकिङ समूहले बजारलाई माथि उठाएर लगानीकर्ताको मुहार चम्काइदिए । 

ट्रेडिङ समूह सबैभन्दा बढी ८.०१ प्रतिशतले बढ्यो । यस्तै, बिमा समूह २४९.०८ अंक, बैकिङ समूह ३६.९७, बित्त समूह २६.३९ अंकले बढे । यस्तै, होटल समूह ४३.६, विकास बैैंक समूह २३.९१, जलविद्युत समूह १५.०२, उत्पादनमूलक ३४.११ र अन्य समूह १०.४१ अंकले बढे । 

हराभरा बजारमा ‘क’ वर्गको कारोबार चम्किँदा सेन्सेटिभ इण्डेक्स ७.४१ र समग्र कारोबार समेत उचालिँदा फ्लोट इण्डेक्स २.७९ अंकले वृद्धि भए । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६१ कम्पनीका ११ लाख ७० हजार ७२ कित्ता सेयर ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ८ लाख बढीको कारोबार गर्यो । यस्तै, फरवार्ड माइक्रो फाइनान्सले ३ करोड १ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ७८ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ४ लाख, स्वालम्बन विकास बैंकले १ करोड ९५ लाख, कृषि विकास बैंकले १ करोड ८१ लाख, सानिमा बैंकले १ करोड ७९ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंक, ३ स्थान विकास बैंक र ३ स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनी लिमीटेडका सेयरधनी मालामाल भए । यी दुुई कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा पहिरो गयो ।