काठमाण्डौ । कोरोना भाइरस तीव्र गतिमा फैलिइरहेको बेला समेत सरकारले विचारै नगरी निर्णय गर्ने गरेको छ । जसका कारण उसका निर्णय २४ घण्टा पनि टिक्न सक्दैन । बिहीबार यस्तै भएको छ । अघिल्लो दिन अर्थात बुधबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै सबै खालका सवारी पास वितरण कार्य बन्द गर्न भनेको थियो । तर, यो निर्णयको मसी सुक्न नपाउँदै बिहीबार अर्को परिपत्र जारी गरेको छ । 

बिहीबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई गरिएको परिपत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको हकमा अत्यावश्यक सेवाका सवारी साधनका लागि भने सवारी पास दिन सकिने व्यवस्था भएको हो । यस्तो सवारी पास जिल्लास्थित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी)बाट निर्णय गराई जारी गर्न सकिनेछ । 

एम्बूलेन्स, सरकारी कर्मचारी तथा अत्यावश्यक क्षेत्रमा सम्बद्धहरुलाई आवतजावतमा समस्या भएपछि गृहले आफ्नो निर्णय २४ घण्टामै संसोधन गरेको बताइएको छ । 

यस्तै, थप उपचारका लागि चिकित्सकले सिफारिस गरेका सिकिस्त बिरामीको हकमा जिल्लामा एम्बूलेन्स सेवा सुविधा अपुग भई अन्य सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था भएमा एम्बूलेन्सको स्वीकृत मापदण्ड बमोजिमका संख्या नबढ्ने सुनिश्चितता गरी बिरामी लैजानका लागि सहजीकरण गर्न समेत गृहले निर्देशन दिएको छ । 

अत्यावश्यक सेवा प्रवाह गर्ने निकायका पदाधिकारी र राष्टसेवक कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनको हकमा समेत औचित्यता हेरी आवतजावतमा सहजीकरण गर्न गृहले निर्देशन दिएको छ। 

यस्तै, हवाई उडानबाट विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, कन्फर्म हवाई टिकट लगायतका आवश्यक कागजात प्रमारण पेश गरेको खण्डमा सिधैं एयरपोर्ट जाने गरी सहजीकरण गरिदिन समेत प्रजिअहरुलाई आग्रह गरिएको छ । 

गृहले संसोधन गरी बिहीबार प्रजिअहरुलाई गरेको परिपत्र यस्तो छ: