►सुदर्शन शर्मा
काठमाण्डौ । विशेष अवसर वा पर्वमा राजधानीको भृकुटीमण्डपमा जुत्ता मेला लाग्छ । यो अवसरमा ग्राहकहरुलाई ३ हजार पर्ने जुत्ता १ हजारसम्म खरीदको बम्पर अफर सार्वजनिक गरिन्छ । कुनै चाडपर्व होस् या अवसर, कपडा व्यापारीले समेत स्टकआउट गर्न यस्तै बम्पर अफर सार्वजनिक गर्छन् । अरुबेला १ हजार पर्ने टिसर्ट उपभोक्ताले यस्तो समयमा ५ सयमै किन्न पाउँछन् । यस्तो अवसर सधैं आउदैन, पाइँदैन । नेपाली सेयरबजारमा सेयर खरीदको यस्तै बम्पर अफरको अवसर पाउने बेला हो यो । यस्तै अवसर पाउनका लागि लगानीकर्ताले फेरि कयौं महिना प्रतिक्षा गर्नुपर्ने हुनसक्छ । 

धेरै लगानीकर्ताले बजारको यो बम्पर अफरलाई आफ्नो पोल्टामा पारेका छन् । आगामी साता समेत लगानीकर्ताहरुले राम्रा कम्पनीको सेयर घटेको मूल्यमा उठाउने अवसर अझै बाँकी छ । यो अवसरलाई नगुमाउन लगानीकर्तालाई आग्रह छ ।

निरन्तर बढेर १९ सय नजिक पुुगेको नेप्से परिसूचक उस्तै गतिमा ओरालो लागी १२ सयको स्तरमा आई फेरि बढ्न थालेको छ । सेयर बजार यति धेरै अंकले सधैं घट्दैन । घटेर निकै तल आएका कारण यही बेलालाई सेयर खरीदको बम्पर अवसरको रुपमा बुुझ्नुपर्छ । यो अर्थमा अहिलेको सेयर बजारमा राम्रा कम्पनीको सेयर घटेको मूल्यमा खरीद गर्ने उपयुक्त अवसर हो, यो अवसर लगानीकर्ताले छुटाउन हुँदैन । 

पछिल्लो समय घटेको बजार बढ्ने थुप्रै कारणहरु अगाडि आएका छन् । सहज हुँदै गएको तरलताको अवस्था, सुधारउन्मुख राजनीतिक वातावरणको साथमा शुक्रबार नेपाल राष्ट्रबैंकले समग्र अर्थतन्त्रका सूचकहरु सवलउन्मुख रहेका र बित्तीय अवस्था समेत सुधारउन्मुख रहेको भनी सार्वजनिक गरेको ६ महिनाको समीक्षा रिपोर्टले समेत आगामी दिनमा बजारलाई उभो लगाउने फ्याक्टरको काम गर्नेछ । 

यस्ता कारणले बजार भोलिको दिनमा बढेर निकै माथि पुुग्नसक्ने अवस्था समेत देखिन्छ, यही कारण समेत सेयर खरीदको सबैभन्दा उपयुक्त अवसर घटेको यही बेला हो । यो बेलालाई गुमाउन हुँदैन । सफल लगानीकर्ताको यही सूत्रका कारण यो साताको बुधबार र बिहीबार सेयर खरीद गर्नेहरुको संख्या बढेको देखिएको छ । साताको प्रारम्भमा सेयर बिक्रीको चाप रहेकोमा अन्तिमका दिनहरुमा खरीदको चाप ह्वात्तै बढेको छ । धेरै लगानीकर्ताले बजारको यो बम्पर अफरलाई आफ्नो पोल्टामा पारेका छन् । आगामी साता समेत लगानीकर्ताहरुले राम्रा कम्पनीको सेयर घटेको मूल्यमा उठाउने अवसर अझै बाँकी छ । यो अवसरलाई नगुमाउन लगानीकर्तालाई आग्रह छ ।

नेपाल एसबीआई बैंकको एफपीओका कारण फ्रिज भएको पैसा रिलिज भएको, २ कम्पनीको आइपीओ बाँडफाँडपछि पनि लगानीकर्ताको हातमा थोरै भए पनि पैसा आएको, सरकार निर्वाचन घोषणामा कटिबद्ध रहेका कारण अब सरकारी ढिकुुटीमा थुप्रिएको रकम समेत खर्च हुने संभावना बढेको तथा सरकारलाई पूँजीगत खर्च बढाउन तीव्र दवाब रहेका कारण समेत आगामी दिनमा बजार माथि जानसक्ने प्रवल संभावना छ । यही कारण समेत घटेको मूल्यमा राम्रा कम्पनीको सेयर उठाउनेले यो पटक बाजी मार्ने देखिन्छ । घटेको बेला सेयर खरीद गर्ने र बढेको बेला बिक्री गर्ने नीति बाठा लगानीकर्ताको बजार नीति हो । आम लगानीकर्ताले यो नीति लिएर १३४३ अंकमा रहेको बजारमा सेयर खरीद गर्नुमा हित देखिन्छ । 

आज किनेर भोलि बिक्री गर्ने उद्देश्यले भन्दा पनि लामो समयका लागि सेयर खरीद गर्दा बढी फाइदा हुन्छ । किनभने घटेको बजारमा अहिले सेयर उठाएर फागुन र चैत महिना मात्रै पर्खन सक्नुुभयो भने त्यसपछि बजार बढ्ने सिजन त्यसै सुरु हुन्छ । अहिले पनि बजार बढाउने कारण प्रशस्त रहेको अवस्थामा चैतपछि बजारले अझ उचाई लिनेछ । कारण, चैत मसान्तभित्र अधिकांश बैंक तथा बित्तीय संस्थाले तेश्रो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्नेछन् । तेश्रो त्रैमासको विवरणबाट कुन कम्पनीले कति बोनस दिनसक्छ भन्ने आँकलन गर्न सहज हुनेछ । यस्तो बेलामा राम्रा कम्पनीको सेयरमा थामिनसक्नुु खरीद चाप हुन्छ । तसर्थ, भविष्यको यो अवसरबाट भरपूर फाइदा लिन समेत सेयर खरीद गर्ने उपयुक्त बेला यही हो, आजै हो । यो अवसर सधैं आउँदैन, कारण बजार सधैं घटेर यो विन्दूमा नआउन पनि सक्छ । त्यसकारण यसलाई दुर्लभ अवसरको रुपमा लिई राम्रा कम्पनीको सेयर खरीदमा ध्यान दिनु लगानीकर्ताको हितमा देखिन्छ ।  
(लेखक सेयर बजार विश्लेषक हुन्)