काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्सपो काठमाण्डौको भृकुटीमण्डपमा आगामी बिहीबारबाट सुरु हुने भएको छ। 

यही जेठ ४ गतेदेखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरुको प्रदर्शर्नी गरिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। 

छैटौँ संस्करणमा व्यापारिक अन्तर्क्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुहरुको बजारीकरणमा जोड दिइने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए। 

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन,  उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिको प्रत्यक्ष  अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ। उनले भने, ‘चेम्बर एक्सपोले बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी–व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत ज्यादै प्रभावकारी हुनेछ।’

एक्सपोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यन्हका सामग्री, जटीबुटीजन्य वस्तुहरु प्रदर्शनी गरिने चेम्बरले जनाएको छ। यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरुसमेत प्रदर्शनीमा राखिनेछ। 

मेलाको करिब डेढ लाखजनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए। 

मेलामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको स्टल रहनेछ। मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए।