काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्सपो बिहीबार सुरु भएको छ। 

काठमाण्डौको भृकुटीमण्डपमा सुरु मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन। मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीलगायत जडीबुटी,    आयुर्वेदिक जन्य बस्तुहरु पनि प्रदर्शनीमा राखिएका छन्। 

यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ। छैटौँ चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरे। 

एक्सपोको उद्घाटन गर्दै भण्डारीले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो। उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाइ छ। उनले मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको समेत बताए। 

मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यवसायिक गतिविधीलाई बढाउन व्यापारमेला आयोजना गरिएको बताए। छैटौँ व्यापार मेलामा चेम्बरले अन्तर्क्रिया, आयात निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुहरुको बजारीकरणमा जोड दिइने जनाएको छ। 

अध्यक्ष मल्लले विदेशबाट आउने वस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि वस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे। उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको एक्स्पो स्थल स्थापना गर्न सकिए यसले मुलुकको निर्यात व्यापारलाई थप टेवा पुग्छ भन्ने सरकार समक्ष आग्रह गर्दछु।’ 

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष  अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ। उनले भने, ‘चेम्बर एक्स्पोले बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी–व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत ज्यादै प्रभावकारी हुनेछ।’ 

चेम्बर एक्सपोलाई सम्बोधन गर्दै वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए। उनले भने, ‘माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपुर्ण सहयोग गर्छ भन्ने मेरो विश्वास छ। यस्ता खाले व्यापार मेला केन्द्रदेखि स्थानीय तहसम्मै गर्नका लागि सरकारले नीतिगत व्यवस्था पनि गरिरहेको छ।’

उत्पादन र उपभोक्तालाई एकैठाउँमा जोड्न पनि मेला निकै फलदायी भएको सचिव मरासिनीको भनाइ छ। मुलुकमा ९ खर्ब रुपैयाँभन्दा बढीको निर्यात क्षमता भएपनि यसको पहिचान हुन नसकेको उनले बताए। 

मेला आज बिहीबारदेखि आगामी ८ गतेसम्म सञ्चालन हुनेछ। मेलामा स्वदेशी उद्योगी–व्यवसायीसँगै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकका उद्योगी–व्यवसायीले सहभागिता जनाएका छन्।