काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौँ वर्ष पूरा गरेको उपलक्ष्यमा  आयोजित बृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। मुलुकका सातवटै प्रदेशमा गरिएका कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए।  

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो। कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको लैनचौरका साथै शाखा कार्यालय बिर्तामोड, इटहरी, वीरगन्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो। 

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। यसका साथै छैटौँ वार्षिकोत्सवका कार्यक्रमहरु समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस अघि आइएमई लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुका बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम, देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम तथा युवा दिवसको अवसरसमेत पारेर वित्तीय जनचेतनाद्वारा युवा सशक्तीकरणको कार्यक्रमसमेत गरेर छैटौँ वार्षिकोत्सव भव्यरुपमा मनाएको बताए। रक्तदान अघि आजै बिहान साढे ६ बजेदेखि काठमाण्डौ लगायत सातै प्रदेशमा जीवन बीमाबारे जनजागरणका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो। 

देशैभरि गरेर उक्त प्रभातफेरी कार्यक्रममा १५०० जनाभन्दा बढीको सहभागिता थियो। 

२०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीलगायतका ग्राहकका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ।